कृत्रिम बुद्धिमताको प्रयोग गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली पहिचान बनाएर करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी र गम्भीर पहिचान चोरीको अभियोग लगाइएको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन्। अमेरिकाको न्युयोर्कस्थित जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार १८ महिनाभन्दा बढी समयसम्म ४१ वर्षीय ज्याकोब सोअल, ५४ वर्षीया सारोन हजान र ४२ वर्षीय गाइ सिट्रिटले आफ्नो एआई योजनामार्फत विश्वभरका हजारौँ कम्पनीलाई निशाना बनाएका थिए। अदालतका कागजातअनुसार उनीहरूबाट ठगिएका संस्थामा मिसौरी र क्यालिफोर्नियाका अस्पताल प्रणाली, रोड आइल्यान्डको एउटा बैंक, बेलायतको एउटा वित्तीय प्रविधि कम्पनी, म्यासाचुसेट्सको एउटा म्युचुअल फन्ड कम्पनी र फ्लोरिडाको एउटा घरपालुवा जनावरको खाना उत्पादन गर्ने कम्पनीसमेत छन्। अभियोगपत्रअनुसार स्पेन, बेलायत, इजरायल र संयुक्त अरब इमिरेट्ससँग सम्बन्धित ती अभियुक्तहरूमाथि सम्पत्ति शुद्धीकरणको आरोपसमेत लगाइएको छ। सोअल र सिट्रिटका वकिलहरूले टिप्पणीका लागि पठाइएको इमेलको तत्काल जवाफ दिएका छैनन्। हजानका तर्फबाट वकिल नियुक्त गरिएको छ वा छैन भन्ने पनि स्पष्ट भएको छैन। अमेरिकी न्याय मन्त्रालयको न्युयोर्कको दक्षिणी जिल्लास्थित कार्यालयले एसोसिएटेड प्रेसले छाडेको भ्वाइस मेलको तत्काल जवाफ दिएको छैन। एपीन्युजका अनुसार तीनै जनालाई जुनदेखि सेप्टेम्बरबीच पक्राउ गरिएको थियो। अमेरिकी न्याय मन्त्रालयका अनुसार हजान सन् २००८ मा न्युयोर्कको एउटा अदालतबाट बैंक ठगीको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए। ‘रकी बाल्बोआ’, ‘सुपरम्यान क्यास’ र ‘फ्याट ब्वाय’ जस्ता उपनाम प्रयोग गर्ने ती तीन जनाले प्रायः कम्पनीका लेखा विभागलाई निशाना बनाउने गरेका थिए। अदालतका कागजातअनुसार उनीहरूले कम्पनीका सीईओबाट पठाइएको जस्तो देखिने इमेल पठाएर गोप्य वित्तीय कारोबारका लागि सहयोग माग्थे। त्यसपछि उनीहरूले फोन वा भिडियो कलको व्यवस्था गर्थे। अभियोगपत्रअनुसार ती कलमा अभियुक्तहरूले एआई प्रयोग गरी सीईओको आवाज र कहिलेकाहीँ अनुहारसमेत नक्कल गर्थे। त्यसपछि उनीहरूले कर्मचारीलाई एउटा ठूलो कानुनी फर्मका वकिलसँग सम्पर्क गर्न भन्थे। अदालतका कागजातअनुसार उक्त वकिलको पहिचान पनि उनीहरूले नक्कल गर्न सक्ने गरी तयारी गरेका हुन्थे। अमेरिकी न्याय मन्त्रालयका अनुसार सोअलले मुख्य रूपमा बेलायतका वकिलहरूको नक्कल गर्थे। उनीसँग ‘लयर कल’ शीर्षकको हातले लेखिएको एउटा स्क्रिप्टसमेत थियो, जसलाई उनले आफू वास्तविक वकिल भएको देखाउन र पीडितलाई ठगी गर्न प्रयोग गर्थे। नक्कली वकिल बनेको व्यक्तिले कर्मचारीलाई विश्वका विभिन्न स्थानमा रहेका बैंक खातामा ठूलो रकम पठाउन निर्देशन दिने गरेको अदालतका कागजातमा उल्लेख छ। त्यसपछि रकमको स्रोत लुकाउने उद्देश्यले उक्त रकम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिन्थ्यो र तीन अभियुक्त तथा योजनामा संलग्न अन्य व्यक्तिहरूबीच बाँडिन्थ्यो। एफबीआईका सहायक निर्देशक जेम्स सी. बार्नेकल जुनियरले यो घटनाले उन्नत प्रविधि प्रयोग गरेर ठूलो स्तरको ठगी गर्न सकिने देखाएको बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “अपराधीहरूले नयाँ प्रविधिलाई अपराधमा प्रयोग गर्न जारी राखेकाले एफबीआई आफ्नो क्षमता तीव्र गतिमा अनुकूल बनाउँदै न्युयोर्कका नागरिक र हाम्रा समुदायमा सञ्चालन भइरहेका व्यवसायलाई हानि पुर्याउन खोज्ने व्यक्तिहरूको पहिचान, अनुसन्धान र उनीहरूका गतिविधि रोक्न प्रतिबद्ध छ।” अमेरिकी न्याय मन्त्रालयका अनुसार दोषी ठहर भएमा प्रत्येक अभियोगमा अधिकतम २० वर्षसम्मको जेल सजाय हुन सक्छ। तर गम्भीर पहिचान चोरीको अभियोगमा भने अधिकतम दुई वर्षको जेल सजाय हुने व्यवस्था छ। The post एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा appeared first on Technology Khabar.
एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






