काठमाडौं । प्रतिष्ठित गीतकार तथा साहित्यकार प्राज्ञ उन्नति बोहरा ‘शीला’को ६० वर्षे साहित्यिक साधना र ५४ वर्ष लामो गीतलेखन यात्राको सम्मानमा आयोजित ‘फर्की आऊ शान्ति तिमी उन्नति शीला संगीत समर्पण साँझ-२०८३’ भव्य सम्पन्न भएको छ । उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा काठमाडौंस्थित नेपाल पुलिस क्लबमा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार संगीतरत्न शम्भुजित बाँस्कोटालाई एक लाख ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको थियो । मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीतकार शीलाद्वारा रचित २५ गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमोद खरेल, आनन्द कार्की, कर्णदास, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रविन बेडवाल, जगदीश समाल, संगीता राना प्रधान, निशा देशार, विश्व नेपाली, टीका प्रसाईंलगायतका गायक–गायिकाले शिलाका चर्चित गीत प्रस्तुत गर्नुभएको थियो । गीतमा शम्भुजित बाँस्कोटा र दीपक जंगमको संगीत रहेको थियो भने २१ जना वाद्यवादकको संयोजन वरिष्ठ संगीतकार मनोहर सुनामले गर्नुभएको थियो । कार्यक्रममा गायिका तथा संगीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, गायक कर्णदास, कलापत्रकार राजाराम फुयाल र डब्बु क्षेत्री, संगीतकार मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही तथा नृत्यांगना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । आफ्ना सिर्जनालाई माया गर्ने दर्शक तथा श्रोताको उपस्थितिले उत्साहित बनेकी गीतकार शीलाले साहित्य र गीतसंगीतमै जीवन समर्पण गरेको बताउनुभयो । उहाँले आफ्नो सिर्जनायात्रामा साथ दिने श्रीमान् दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति कार्यक्रम समर्पित रहेको उल्लेख गर्नुभयो । शीलाको लोकप्रिय देशभक्तिपूर्ण गीत ‘फर्की आऊ शान्ति तिमी’लाई नै कार्यक्रमको शीर्षक बनाइनुले उहाँको शब्दसामर्थ्य र सांगीतिक योगदानलाई थप स्मरणीय बनाएको थियो । ‘कोसेली उसैलाई’, ‘भावनाका तरंग’ र ‘अदृश्य घाउ’जस्ता कृति तथा ‘सिक्काका दुई पाटा’ उपन्यासकी स्रष्टा शीला नेपाली गीतसाहित्यमा पाँच दशकभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँका सयौं गीत रेकर्ड भएका छन् भने साहित्यिक योगदानबारे त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धानसमेत भएको छ । महिला गीतकार संघकी संस्थापक अध्यक्षसमेत रहनुभएकी उहाँले विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
उन्नति बोहरा ‘शीला’को गीतयात्राको उत्सव

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




_hN4rwskxnG.jpg)
