काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ। महाशाखाले जारी गरेको पाँचदिने मौसम पूर्वानुमान अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आइतबार मौसममा तुलनात्मक रूपमा बढी बदली देखिनेछ। यस दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सोही दिन कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। आइतबार राति पनि हिमाली भू-भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार र मंगलबारदेखि भने मौसममा क्रमशः सुधार आउने देखिएको छ। सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मंगलबार कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मात्र यस्तो सम्भावना रहनेछ। पाँचदिने अवधिभर तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
आइतबार मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज






