काठमाडौं । अमेरिकी गुप्तचर निकायको नयाँ प्रतिवेदनले इरानले वाशिङ्टन, डीसीमा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाइरहेको देखाएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले सात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस्तो योजनाको खुलासा गरेको हो । स्रोतका अनुसार अमेरिकासँगको युद्धमा सबै विकल्प खुला राख्ने उद्देश्यले लामो समयदेखि उसले यस्तो योजना बनाइरहेको हो । पत्ता लागेका योजनाहरूमा निश्चित स्थान र लक्षित व्यक्तिहरूको स्पष्ट विवरण रहेका कारण अमेरिकी अधिकारीहरूले आकस्मिक सुरक्षा तयारी र छलफल तीव्र बनाएका छन्। व्हाइट हाउसकी प्रवक्ता लरेन बिस्ले अमेरिकाले सबै सम्भावित खतराहरूलाई निगरानी गरिरहेको बताइन् । उनले हाल स्वदेशमा कुनै ठोस खतरा नरहेको दाबी पनि गरिन् । तर, जारी अमेरिकी सैन्य आक्रमण र आर्थिक नाकाबन्दीका कारण चरम दबाबमा परेपछि इरानले अमेरिकी भूमिमै आक्रमण गर्ने योजना बनाएको हुनसक्ने अमेरिकी अधिकारीहरूको बुझाइ छ। डर्टी बम (रेडियोधर्मी सामग्री र परम्परागत विस्फोटक पदार्थको मिश्रण) बनाउन तुलनात्मक रूपमा सजिलो हुने विज्ञहरूले बताएका छन्। अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ। यसबारे अधिकारीहरूबीच केही मतभेद रहे पनि सुरक्षा चुनौती भने गम्भीर रूपमा लिइएको छ। यसअघि पनि इरानले सन् २०२४ मा राष्ट्रपति ट्रम्पविरुद्ध हत्याको प्रयाससहित विभिन्न षड्यन्त्र रचेको इतिहास छ। पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्व हर्मुज जलमार्ग र पश्चिम एशियाका अन्य देशमा समेत केन्द्रित छ। अमेरिकी अधिकारीहरूले पश्चिम एशियामा तैनाथ अमेरिकी सैनिकहरूविरुद्ध पनि रासायनिक हतियार प्रयोग हुन सक्ने जोखिम औंल्याएका छन्। दुई देशबीचका कूटनीतिक वार्ता र युद्धविरामका प्रयासहरू अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन्। अमेरिकी अधिकारीहरूले इरानले यस्ता विनासकारी हतियार प्रयोग गरेमा त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् । तर, इरानले आफ्नो अस्तित्व नै संकटमा परेको महसुस गरेमा यस्ता खतरनाक कदम चाल्न सक्ने जोखिम अझै कायम रहेको छ।
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






