काठमाडौँ । अमेरिकामा दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण सुरक्षा चिन्तासहित जारी गरिएको ‘ग्राउन्ड स्टप’ हटाइएपछि घरेलु उडानहरू पुनः सञ्चालन हुन थालेका छन् । सङ्घीय अधिकारीहरूले केही घण्टासम्म सबै घरेलु उडान रोक्ने निर्णय गरेका थिए । अमेरिकी यातायात मन्त्री शन डफीले पुरानो हवाई यातायात नियन्त्रण प्रविधि र अत्यधिक भार परेका राउटरहरूका कारण समस्या उत्पन्न भएको बताएका छन् । उनले वर्तमान प्रणाली पुरानो भइसकेको भन्दै समयमै आधुनिकीकरण नगरे यस्ता अवरोधहरू फेरि दोहोरिन सक्ने चेतावनी दिएका छन् । डफीले अमेरिकी कांग्रेसलाई हवाई यातायात नियन्त्रण प्रणालीको स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन बारम्बार आग्रह गरेका छन् । उनका अनुसार सेवाहरू पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्नेछ, तर करिब दुई सातापछि आउने थ्याङ्क्सगिभिङ यात्रामा भने यसले ठुलो असर नगर्ने अपेक्षा गरिएको छ । उडान रोकावट कुनै सुरक्षा खतरा वा आक्रमणसँग सम्बन्धित नभएको अधिकारीहरूको भनाई छ । उडान रद्द तथा अवरोधका कारण यात्रुहरूले ठुलो सास्ती बेहोर्नुपरेको छ। हवाई यात्रा सम्बन्धी तथ्याङ्क विश्लेषक संस्था सिरियमका अनुसार करिब १५ लाख यात्रु प्रभावित भएका छन् । आकाशमा रहेका विमानहरूलाई क्रमशः अवतरण गराइएको थियो भने चार घण्टाभन्दा बढी समयसम्म उडान रोकावट जारी रहँदा अमेरिकाको हवाई यातायात प्रणाली लगभग ठप्पजस्तै बनेको थियो । यो घटनाले अमेरिकाको हवाई यातायात पूर्वाधार अझै पनि पुरानो प्रविधिमा निर्भर रहेको र त्यसको आधुनिकीकरणमा ढिलाइ हुँदा राष्ट्रिय स्तरकै यात्रा अव्यवस्था सिर्जना हुन सक्ने चिन्ता पुनः उजागर गरेको सिएनएनले जनाएको छ ।
अमेरिकाभर उडान प्रभावित,चार घण्टाभन्दा बढी ‘ग्राउन्ड स्टप’ पछि पुनः सञ्चालन सुरु

Read Complete Original Article
Published originally on टक्सार






