काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन् । विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिनेछ । यसअघि विमानबाट झारिएको सामान ब्यागेज बेल्टसम्म आइपुग्न लाग्ने समयबारे यात्रुले कुनै प्रत्यक्ष सूचना पाउने व्यवस्था थिएन । सामान आउने प्रतीक्षामा यात्रु अन्योलमा पर्ने र ब्यागेज व्यवस्थापन प्रक्रियाबारे जानकारी नहुँदा असहज हुने गरेका थिए । नयाँ व्यवस्थापछि यात्रुले आगमन कक्षमै राखिएको स्क्रिनबाट ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि हेर्न सक्नेछन् । यसबाट सामान झार्ने प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी पाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । विमानस्थलको सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । पछिल्लो समय विमानस्थलमा यात्रु सेवा सुधार, ब्यागेज व्यवस्थापन र सेवा प्रवाहलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । ब्यागेज व्यवस्थापनमा प्रत्यक्ष दृश्य उपलब्ध गराउने यो व्यवस्थाले यात्रुको प्रतीक्षा अनुभव सहज बनाउनुका साथै विमानस्थलको सेवा प्रवाहमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।
अब विमानस्थलमा यात्रुले आगमन कक्षबाटै आफ्नो ब्यागेज हेर्न पाउने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






