काठमाडौं। ‘अफलाइन पठाओ’ सेवामार्फत सामान गन्तव्यसम्म पुर्याइदिने भन्दै यात्रुको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुको सामान गन्तव्यसम्म पुर्याइदिने भन्दै लिएर फरार हुने गरेको गुनासो प्रहरीसमक्ष पुगेको थियो। उक्त गुनासोका आधारमा प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उनलाई बा.६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
‘अफलाइन पठाओ’को नाममा ठगी, एक पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






