म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो । मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसैँपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिए। “गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्”, उनले भने, “पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन् ।” समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बेनी, भुरुङ-तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याप्पसका प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहासिक र रमणीय भएको प्रतिक्रिया दिइन् । पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । संघीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भार गरिएको छ । आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । गत हप्ता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामकरण गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’अन्तर्गत नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविर क्षेत्रमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

Read Complete Original Article
Published originally on नेपालन्युज




.jpg)

