काठमाडौं । नेपाल र चीनबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी (किट कलेज) र चीनको झाङ्झाउ इलेक्ट्रिक पावर कलेज (जेपेक) बीचको साझेदारीलाई थप सुदृढ बनाउने पहल अघि बढाइएको छ । सात वर्षदेखि जारी शैक्षिक तथा प्राविधिक सहकार्यलाई नयाँ चरणमा विस्तार गर्ने उद्देश्यसहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाका सञ्चालक प्रतिनिधि तथा विद्यार्थीहरूको दुई साताको चीन भ्रमण सम्पन्न भएको हो । चीनको झाङ्झाउ इलेक्ट्रिक पावर कलेजको निमन्त्रणामा अक्टोबर २३ देखि नोभेम्बर ५, २०२६ सम्म भएको भ्रमणले नेपाली प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा संस्थागत साझेदारी विस्तारका नयाँ सम्भावना उजागर गरेको आयोजकले जनाएको छ । काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष भक्त प्रल्हाद पाण्डेको नेतृत्वमा सम्पन्न भ्रमण टोलीमा फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष सुनिल कुमार चालिसे, सल्लाहकार समिति संयोजक चिरञ्जीवी जोशी, केन्द्रीय सदस्य डा. उज्ज्वल ठाकुर, गेटवे कलेज अफ प्रोफेसनल स्टडिजका अध्यक्ष सुरेश केसी तथा उक्त कलेजकी प्रिन्सिपल डाली खनाल सहभागी हुनुहुन्थ्यो । भ्रमण टोलीमा किट कलेजमा विद्युतीय तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा डिप्लोमा अध्ययनरत पाँच जना विद्यार्थीसमेत सहभागी थिए । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनको उक्त कलेजका आधुनिक शैक्षिक तथा प्राविधिक संरचना, प्रयोगशाला, प्रशिक्षण केन्द्र, शिक्षण सिकाइ पद्धति तथा उद्योगसँग जोडिएको व्यावहारिक तालिम प्रणालीको अवलोकन गरेको थियो । चिनियाँ प्राविधिक शिक्षा प्रणालीमा आधुनिक प्रविधि, प्रयोगात्मक सिकाइ र उद्योगको आवश्यकतालाई शैक्षिक कार्यक्रमसँग जोड्ने अभ्यासबारे पनि प्रतिनिधिहरूले अनुभव हासिल गरेका थिए । दुवै संस्थाबीच भएको छलफलमा शिक्षण सिकाइ पद्धतिको आदानप्रदान, शिक्षक तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीको व्यावहारिक सीप विकास, चिनियाँ भाषा शिक्षण, उच्चस्तरीय शैक्षिक तथा व्यवस्थापकीय अवलोकन भ्रमण र उद्योगमा आधारित तालिम सञ्चालनका विषयमा विशेष जोड दिइएको थियो । साथै, चीनमा लगानी भएका औद्योगिक तथा व्यावसायिक संस्थाहरूमा नेपाली विद्यार्थीका लागि कार्यमा आधारित तालिम, प्रशिक्षार्थी कार्यक्रम तथा सम्भावित रोजगारीका अवसर विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । सात वर्षदेखिको सहकार्यलाई संस्थागत रूपमा विस्तार गर्ने तयारी काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी र चीनको झाङ्झाउ इलेक्ट्रिक पावर कलेजबीच विगत सात वर्षदेखि निरन्तर शैक्षिक तथा प्राविधिक सहकार्य हुँदै आएको छ । यस साझेदारीले दुवै संस्थाबीच ज्ञान, सीप, प्रविधि र शैक्षिक अनुभव आदानप्रदान गर्ने आधार तयार गरेको छ । यस पटकको भ्रमणले विद्यमान सम्बन्धलाई थप व्यवस्थित, संस्थागत र दीर्घकालीन साझेदारीका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । विशेषगरी विद्युतीय तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, विद्युत् तथा ऊर्जा प्रविधि, औद्योगिक स्वचालन, आधुनिक प्रयोगशाला अभ्यास र व्यावसायिक सीप विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावना पहिचान गरिएको छ । आगामी दिनमा विद्यार्थी आदानप्रदान कार्यक्रमलाई नियमित र व्यवस्थित बनाउने, छोटो अवधिका विशेष प्राविधिक तालिम सञ्चालन गर्ने, प्रयोगशालामा आधारित व्यावहारिक प्रशिक्षण, औद्योगिक अवलोकन, प्रशिक्षार्थी कार्यक्रम तथा कार्यमा आधारित सिकाइका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, दुवै संस्थाका शिक्षक, प्राध्यापक, प्रशिक्षक तथा प्राविधिक कर्मचारीबीच अनुभव आदानप्रदान र क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिइनेछ । यसअन्तर्गत प्राध्यापक आदानप्रदान, संयुक्त शिक्षक तालिम, अतिथि प्राध्यापक कार्यक्रम, प्राविधिक विशेषज्ञका व्याख्यान, पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला तथा शैक्षिक अवलोकन भ्रमण सञ्चालन गर्ने सम्भावना अघि बढाइने जनाइएको छ । आधुनिक शिक्षण विधि, डिजिटल शिक्षण प्रणाली, प्रयोगशाला व्यवस्थापन, प्राविधिक पाठ्यक्रमको स्तरोन्नति, अनुसन्धान तथा नवप्रवर्तन र उद्योगको आवश्यकता अनुरूप सीप विकासका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ । यसका अतिरिक्त दुवै संस्थाबीच संयुक्त शैक्षिक गतिविधि, प्राविधिक अनुसन्धान, प्रविधि हस्तान्तरण तथा औद्योगिक संस्थाहरूसँगको सहकार्यलाई प्रोत्साहन गर्ने विषयलाई पनि भविष्यको प्राथमिकतामा राखिएको छ । यस्ता कार्यक्रमले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक ज्ञान, सीप र व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय साझेदारीबाट नेपाली प्राविधिक शिक्षामा नयाँ अवसर भ्रमणका क्रममा फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष सुनिल कुमार चालिसेले किट कलेज र जेपेकबीच सात वर्षदेखि कायम रहेको सहकार्यलाई थप विस्तार गर्न यस पटक फोरमका प्रतिनिधिहरूलाई समेत सहभागी गराइएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय शैक्षिक अनुभव तथा प्राविधिक अभ्यासको आदानप्रदानले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । भ्रमण टोलीका संयोजक तथा किट कलेजका अध्यक्ष भक्त प्रल्हाद पाण्डेले नेपाल र चीनबीच प्राविधिक शिक्षा तथा सीप विकासको क्षेत्रमा सहकार्य विस्तार गर्न यो भ्रमण महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यार्थी, शिक्षक, प्रशिक्षक तथा शैक्षिक व्यवस्थापकहरूको भ्रमण तथा अनुभव आदानप्रदानलाई निरन्तरता दिँदै संयुक्त तालिम, प्राविधिक ज्ञान हस्तान्तरण, प्राध्यापक आदानप्रदान र उद्योगमा आधारित सिकाइ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले किट कलेज र जेपेकबीचको सहकार्यलाई संस्थागत भ्रमणमा मात्र सीमित नराखी विद्यार्थीको व्यावहारिक सीप विकास, रोजगारीका सम्भावना विस्तार, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि तथा शैक्षिक संस्थाहरूको समग्र गुणस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्याउने दीर्घकालीन साझेदारीका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गर्नुभयो । यस भ्रमणले नेपाल र चीनबीच प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासको आदानप्रदानलाई थप गति दिने अपेक्षा गरिएको छ । साथै, नेपाली युवालाई आधुनिक उद्योगको आवश्यकता अनुरूप दक्ष, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारमा अवसर प्राप्त गर्न सक्षम जनशक्तिका रूपमा विकास गर्ने दिशामा पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
KIT कलेज र चीनको जेपेकबीच सहकार्य विस्तार, प्राविधिक शिक्षा साझेदारी नयाँ चरणमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






