काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) नेपालमा मोटरसाइकल तथा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको आयात उल्लेख्य रुपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा मोटरसाइकल तथा सम्बन्धित दुईपाङ्ग्रे सवारीसाधनका विभिन्न १३ शीर्षकमा कुल १ लाख १३ हजार २१७ थान आयात भएको छ । उक्त आयातबाट सरकारले १५ अर्ब ७८ करोड ९ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ । यस अवधिमा आयातको कुल मूल्य भने १६ अर्ब ३३ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै ५८ हजार ४३२ थान पिस्टन इन्जिनयुक्त मोटरसाइकलका एसेम्बल नगरिएका सवारीसाधन आयात भएका छन् । उक्त आयातको मूल्य ६ अर्ब ४८ करोड ६० लाख रुपैयाँ रहेको छ भने यसबाट ५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । त्यस्तै, अर्को शीर्षकमा २३ हजार ९१७ थान एसेम्बल नगरिएका मोटरसाइकल आयात भएका छन् । ती सवारीसाधनको आयात मूल्य ३ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ र भन्सार राजस्व ३ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, तेस्रो ठूलो आयात शीर्षकमा ९ हजार ४४६ थान मोटरसाइकल आयात भएका छन् । यसको आयात मूल्य १ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ र राजस्व १ अर्ब ८८ करोड २२ लाख रुपैयाँ रहेको छ। तथ्यांकमा ५० सीसीभन्दा बढी क्षमताका पिस्टन इन्जिनयुक्त मोटरसाइकल ४ हजार ६३८ थान र १२५ सीसीभन्दा बढी क्षमताका मोटरसाइकल ४ हजार २६१ थान आयात भएको देखिन्छ । यस्तै, अर्को शीर्षकमा ११ हजार ७३९ थान एसेम्बल नगरिएका मोटरसाइकल भित्रिएका छन् । विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको आयात भने तुलनात्मक रूपमा कम देखिएको छ । चार महिनामा मोटरजडित साइकल सात थान र विद्युतीय मोटरसाइकल २२१ थान आयात भएका छन् । विद्युतीय मोटरसाइकलबाट ५७ लाख ८४ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यसैगरी, २०० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल २३६ थान, २५१ सीसीभन्दा बढी क्षमताका मोटरसाइकल चार थान र ८०० सीसीभन्दा बढी क्षमताको एक थान मोटरसाइकल आयात भएको तथ्यांकमा उल्लेख छ । भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा मोटरसाइकल तथा दुईपाङ्ग्रे सवारीसाधनको आयातबाट ठूलो रकम राजस्व संकलन भएको देखाएको छ ।
४ महिनामा एक लाख बढी दुई पाङ्ग्रे सवारीसाधन भित्रिए

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






