भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। घुसबापत लिएको रकम व्यवस्थापन गर्न आफन्तको जिम्मा लगाएको आशंकामा अख्तियारले घिमिरेसहित चार जनालाई नियन्त्रणमा लिएको हो। सोमबार अपराह्न नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई अख्तियारको टोलीले मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक रोकेर जाँच गरेको थियो। बरुण ढुङ्गेलले चलाएको उक्त गाडीमा घिमिरेका भाइ नाता पर्ने भुवन ढुङ्गेल र उनकी श्रीमती सवार थिए। गाडी जाँच गर्ने क्रममा ३३ लाख रुपैयाँ नगद फेला परेपछि चालकसहित गाडीमा सवार व्यक्तिहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि अख्तियारको टोली नगरपालिकाको कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई पनि नियन्त्रणमा लिई घटनास्थलमा ल्याएको हो। अख्तियारको प्रारम्भिक दाबीअनुसार गाडीबाट बरामद ३३ लाख रुपैयाँ घिमिरेले घुसबापत लिएको रकम हो। उक्त रकम व्यवस्थापनका लागि उनले भुवन ढुङ्गेललाई दिएको आशंका गरिएको छ। तर, घिमिरेले भने घुस लिएको आरोप अस्वीकार गरेका छन्। घटनास्थलमा बरामद रकमको मुचुल्का तयार गर्ने कार्य भइरहेको छ। घटनाको थप विवरण र रकमको स्रोतबारे अख्तियारको अनुसन्धानपछि खुल्नेछ।
३३ लाख रुपैयाँसहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






