चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा, ब्याट्री स्टोरेज र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ऊर्जा व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा समेटिएको नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रणालीमा हाइब्रिड इन्भर्टर, ऊर्जा भण्डारण ब्याट्री र एआईमा आधारित ऊर्जा व्यवस्थापन प्रविधि एकीकृत गरिएको छ। यसको डिजाइन जडान तथा सञ्चालन गर्न सहज हुने गरी तयार पारिएको छ। कम्पनीले केही मिनेटमै यसको जडान र प्रारम्भिक सेटअप गर्न सकिने जनाएको छ। ल्युटेरा एस२ सिंगल फेजमा ३ देखि १० किलोवाट र थ्री फेजमा ५ देखि २० किलोवाट क्षमताका विकल्पमा उपलब्ध हुनेछ। ह्वावेका अनुसार आफ्नै पूर्ण सिलिकन कार्बाइड (फुल–एसआईसी) प्रविधिमा आधारित यो उद्योगकै पहिलो आवासीय ऊर्जा प्रणाली हो। यसमा प्रयोग गरिएको फुल–एसआईसी आर्किटेक्चर र एएनपीसी प्रविधिले अधिकतम ९९ प्रतिशतसम्म ऊर्जा रूपान्तरण दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ। प्रणालीमा तीनवटासम्म इन्भर्टर समानान्तर रूपमा जडान गर्न सकिने र यसबाट अधिकतम ६० किलोवाट क्षमता प्राप्त गर्न सकिने बताइएको छ। त्यस्तै, ब्याट्रीतर्फ ४८ वटासम्म प्याक समानान्तर रूपमा जोड्न सकिने र अधिकतम ३३६ किलोवाट आवर ऊर्जा भण्डारण क्षमता विस्तार गर्न सकिने कम्पनीले जनाएको छ। एआईबाट ऊर्जा व्यवस्थापन ल्युटेरा एस२ मा ह्वावेको एआई इनर्जी म्यानेजमेन्ट २.० प्लेटफर्म प्रयोग गरिएको छ। यसले मौसमको पूर्वानुमान, विद्युत् मूल्य, घरको विद्युत् खपत र उपलब्ध ऊर्जा अवस्थाको विश्लेषण गरी ऊर्जा उत्पादन, भण्डारण र उपयोगलाई व्यवस्थापन गर्ने कम्पनीको भनाइ छ। यस प्रणालीले सौर्य ऊर्जा, ब्याट्री स्टोरेज, विद्युतीय सवारीसाधन चार्जिङ, हिट पम्प र भर्चुअल पावर प्लान्ट (भीपीपी) बीच समन्वय गर्न सक्छ। यसबाट घरमा उत्पादन भएको विद्युत् अधिकतम उपयोग गर्न र आवश्यकताअनुसार ऊर्जा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसमा रहेको एआई असिस्टेन्टमार्फत प्रयोगकर्ताले संवादात्मक तरिकाले ऊर्जा व्यवस्थापनसम्बन्धी जानकारी लिन र निर्णय गर्न सक्नेछन्। त्यस्तै, जडानकर्ताका लागि एआई थ्रीडी मोडलिङ, स्वचालित प्रणाली परीक्षण तथा टाढैबाट प्राविधिक सहयोग उपलब्ध गराउने सुविधा पनि समावेश गरिएको छ। आवाज कम र सुरक्षा प्रणालीमा जोड ह्वावेले ल्युटेरा एस२ मा बाहिरी फ्यान आवश्यक नपर्ने प्राकृतिक शीतलन प्रणाली प्रयोग गरेको जनाएको छ। यसका कारण सञ्चालनका क्रममा आवाज २९ डेसिबलभन्दा कम हुने कम्पनीको दाबी छ। सुरक्षाका लागि ब्याट्रीको प्रत्येक सेलमा छुट्टै सुरक्षा संरचना राखिएको छ। ब्याट्रीमा अत्यधिक ताप उत्पन्न हुँदा त्यसको असर अन्य सेलमा फैलिन नदिन विशेष डिजाइन प्रयोग गरिएको कम्पनीले जनाएको छ। धुवाँ बाहिर निकाल्ने र तापक्रम नियन्त्रण गर्ने संरचनाका साथै एसी तथा डीसी टर्मिनलको तापक्रम निरन्तर निगरानी गर्ने प्रणाली पनि यसमा छ। कम्पनीका अनुसार ल्युटेरा एस२ ले युरोपेली ब्याट्री नियमनका सम्बन्धित मापदण्ड पूरा गरेको छ। यसले IEC 63027 अन्तर्गतको आर्क फल्ट सर्किट इन्टरप्टर (AFCI) मापदण्ड पनि पालना गर्छ। यस प्रणालीमा टीयूभी रेइनल्याण्डले सुरक्षा परीक्षण गरेको छ। परीक्षणमा १ हजार डिग्री सेल्सियस तापक्रममा २० मिनेटसम्मको आगलागी परीक्षण, ब्याट्री सेलको थर्मल रनअवे परीक्षण र २० प्रतिशत हाइड्रोजन विस्फोटसम्बन्धी परीक्षण समावेश रहेको कम्पनीले जनाएको छ। यसले UL 9540A प्रमाणीकरणसम्बन्धी परीक्षण पनि पार गरेको बताइएको छ। ल्युटेरा एस२ मा १० मिलिसेकेन्डभन्दा कम समयमा ब्याकअप पावरमा परिवर्तन हुने सुविधा छ। विद्युत् ग्रिड उपलब्ध नभएको अवस्थामा यसले २० किलोवाटसम्मको लोड धान्न सक्ने कम्पनीको दाबी छ। यो प्रणाली माइनस २५ देखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा सञ्चालन गर्न सकिने र IP66 स्तरको सुरक्षा भएको बताइएको छ। ह्वावे डिस्ट्रिब्युटेड पीभी एन्ड बीईएसएस बिजनेसका अध्यक्ष स्टिभ झाङले नयाँ प्रणालीलाई पहिलेभन्दा सानो, हलुका, शान्त, सुरक्षित र स्मार्ट बनाउने उद्देश्यले विकास गरिएको बताएका छन्। कम्पनीका अनुसार यस प्रणालीको डिजाइन आयु १५ वर्षभन्दा बढी राखिएको छ। यद्यपि, यसको मूल्य, बजारमा उपलब्ध हुने समय र विभिन्न देशमा बिक्रीसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। The post ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’ appeared first on Technology Khabar.
ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






