हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरमा मोटरसाइकल र पिकअप गाडी एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा–१७ हटियाका अन्दाजी २७ वर्षीय सुदीप पाण्डे रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार राति करिब ८ः४५ बजे धरान–चतरा सडकखण्डमा दुर्घटना भएको हो। हेटौँडाबाट तरकारी बोकेर सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल सडकको बीच भागमा एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। दुर्घटनालगत्तै हटिया प्रहरी चौकीबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याइएका पाण्डेलाई चिकित्सकले राति ९ः३५ बजे मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले पिकअप गाडी र त्यसका चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी अन्दाजी ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ। मृतकको शव चुरेहिल अस्पतालमै राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हेटौँडामा मोटरसाइकल र पिकअप ठोक्किँदा युवकको मृत्यु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






