काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विगतका राजनीतिक दलहरूले गरेका गल्ती नदोहोर्याउन सुझाव दिएका छन्। रास्वपाभित्र सरकार र पार्टीबीच देखिएको असमझदारीप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्था लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीभित्र विगतमा भएका आन्तरिक संघर्ष र विभाजनको उदाहरण दिँदै यस्ता घटनाले देश र जनतालाई नोक्सान पुर्याएको उल्लेख गरेका छन्। भट्टराईले भनेका छन्, ‘स्मरण रहोस्, २००७ सालपछि कांग्रेसमा बीपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरिजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो, इतिहास साक्षी छ।’ उनले इतिहासका गल्तीबाट पाठ सिक्न आग्रह गर्दै नयाँ राजनीतिक शक्तिलाई नयाँ इतिहास निर्माण गर्न सल्लाह दिएका छन्। उनले भने, ‘इतिहासका गल्ती नदोहोर्याओस्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्।’ भट्टराईले ‘मानिसले आफ्ना गल्ती दोहोर्याउने भएकाले इतिहास पनि दोहोरिन्छ’ भन्ने भनाइ उद्धृत गर्दै युवा बाहुल्य पार्टी रास्वपालाई सचेत गराएका हुन्।
स्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव- पुराना दलका गल्ती नदोहोर्याऊ

Read Complete Original Article
Published originally on नेपालन्युज






