रसुवा।स्याफ्रुबेंसीको काठे पुल निर्माण भएको छ। गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेंसी खोलाको पुल बगाएको थियो। उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो। गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेंसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो। नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा उक्त काठेपुल निर्माण गरिएको हो। यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेंसीको पक्की पुल र सडक खण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो। लामो समयसम्म यातायात र पैदलमार्ग समेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५) का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए। बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुल समेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो। हाल संयुक्त प्रयासमा काठेपुल पुनः खडा गरिएपछि दुवै गाउँपालिकाका बासिन्दा तथा सो क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई पैदल आवतजावतका लागि निकै राहत मिलेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर) ले जानकारी दिए।
स्याफ्रुबेंसीमा काठेपुल, आवतजावत सहज

Read Complete Original Article
Published originally on नेपालन्युज






