काठमाडौं- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्ट्रेट अफ होर्मुजबाट हुने तेल निर्यात केही दिनमा द्वन्द्व सुरु हुनुअघिको स्तर नजिक पुगेको दाबी गरेका छन् । पेरिसमा आयोजित जी-७ देशका विदेशमन्त्रीहरूको सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले केही दिनमा होर्मुजबाट हुने तेल निर्यात द्वन्द्वअघिको तुलनामा ८० देखि ८५ प्रतिशतसम्म पुगेको दाबी गरेका हुन् । उनले भने, ‘तेल निर्यात भइरहेको छ । केही रातमा द्वन्द्वअघिको तुलनामा ८० देखि ८५ प्रतिशतसम्म तेल बाहिरिएको छ ।’ इरानको तेल निर्यात हुन नसकेका कारण मात्रै शत प्रतिशत निर्यात हुन नसकेको उनको भनाइ छ । रुबियोले होर्मुजबाट नियमित रूपमा बाहिरिन नसकेको तेल इरानकै रहेको दाबी गरे । उनले इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको आर्थिक दबाब अभियान प्रभावकारी भइरहेको पनि बताए । उनले आर्थिक अभियान प्रभावकारी भएकाले ठूलो स्तरको सैन्य कारबाही आवश्यक नपर्ने अवस्था आएको आफूलाई जानकारी दिइएको बताए । विदेशमन्त्री रुबियोले इरानसँगको द्वन्द्व अन्त्य गर्न अमेरिका कूटनीतिक वार्ताका लागि तयार रहेको बताए । तर इरानले अघि सारेका मागहरू पूर्ण रूपमा अव्यावहारिक रहेको उनले टिप्पणी गरे । ‘हामी कूटनीतिका लागि खुला छौं । तर इरानका मागहरू पूर्ण रूपमा अव्यावहारिक छन् । ती मागमा परिवर्तन आउन सक्ने हाम्रो अपेक्षा छ । यदि त्यसो भयो भने हामी कूटनीतिक वार्ताका लागि तयार छौं’, उनले भने । रुबियोले आर्थिक माध्यमबाटै अमेरिकाले चाहेका उद्देश्य हासिल भइरहे थप सैन्य आक्रमण गर्नुपर्ने आवश्यकता नरहेको पनि बताए ।
स्ट्रेट अफ होर्मुजबाट तेल निर्यात द्वन्द्वअघिको स्तर नजिक पुगेको अमेरिकाको दाबी

Read Complete Original Article
Published originally on विश्वखबर






