काठमाडौं । दुई दशकभन्दा लामो समयसम्म भारतीय राजनीतिमा सोनिया गान्धीको सार्वजनिक मौनता चर्चाको विषय बनिरह्यो । समर्थकहरूले त्यसलाई शालीनताका रूपमा व्याख्या गरे । आलोचकहरूले अपारदर्शी शक्तिको अभ्यास भन्दै प्रश्न उठाए । तर, अहिले ७९ वर्षीया कांग्रेस पूर्वअध्यक्षले नोभेम्बर २०२६ मा हार्परकोलिन्स इन्डियाबाट प्रकाशित आत्मकथा ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ मार्फत आफ्ना अनुभव सार्वजनिक गरेपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसबीच आरोप–प्रत्यारोप चर्किएको छ । पुस्तकमा इटालीमा बिताएको बाल्यकाल, क्याम्ब्रिजमा राजीव गान्धीसँगको भेट र नेहरू–गान्धी परिवारको राजनीतिक केन्द्रमा रहेर बिताएका दशकहरूको अनुभव समेटिएको छ । पुस्तक बेस्टसेलर सूचीमा पुगेको दाबी भइरहेका बेला भाजपाका नेताहरूले यसलाई नेहरू–गान्धी परिवारको ऐतिहासिक छवि सुधार्ने र विगतका घटनाको व्याख्या बदल्ने प्रयास भनेका छन् । कांग्रेसले भने यसलाई सोनिया गान्धीको जीवन र संघर्षको व्यक्तिगत संस्मरण भन्दै बचाउ गरेको छ । इतिहासको ‘ह्वाइटवासिङ’ भाजपाले पुस्तकमा ऐतिहासिक घटनालाई छनोटपूर्ण रूपमा प्रस्तुत गरिएको र कांग्रेस शासनकालका विवादास्पद पक्षलाई ढाकछोप गर्न खोजिएको भन्ने आरोप लगाएको छ । भाजपाका राष्ट्रिय प्रवक्ता सीआर केशवनले पुस्तकको नाम ‘बिलंगिङ’ नभई ‘ह्वाइटवासिङ’ हुनुपर्ने टिप्पणी गरेका छन् । उनका अनुसार पुस्तकले नेहरू–गान्धी परिवारका ऐतिहासिक गल्तीलाई नरम रूपमा प्रस्तुत गर्दै कांग्रेसका कमजोरी लुकाउन खोजेको छ । पूर्वकेन्द्रीय मन्त्री मुख्तार अब्बास नकवीले पुस्तकलाई ‘बेइमानीको पोको’ भनेका छन् । उनले यसलाई इमानदार जीवनकथाभन्दा पनि विगत तीन दशकदेखि कांग्रेसले प्रस्तुत गर्दै आएका राजनीतिक दाबीको पुनःसंकलनको संज्ञा दिएका छन् । भाजपाका नेताहरूले जवाहरलाल नेहरूका निजी पत्राचारजस्ता ऐतिहासिक अभिलेख सार्वजनिक गर्न सोनिया गान्धी किन हिचकिचाएको भन्दै प्रश्न उठाएका छन् । पूर्वकांग्रेस नेता के. नटवर सिंहको आत्मकथाप्रति उनले विगतमा जनाएको आपत्तिलाई पनि स्मरण गराउँदै भाजपाले परिवारको राजनीतिक विरासत जोगाउन इतिहासको भाष्य नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ । विवादमा तानिएका ऐतिहासिक घटना सन् २००४ को निर्वाचनमा कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) विजयी भएपछि सोनिया गान्धीले प्रधानमन्त्री पद अस्वीकार गरेको घटनालाई कांग्रेसले व्यक्तिगत त्यागका रूपमा प्रस्तुत गर्दै आएको छ । तर, भाजपा तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का नेताहरूले यस व्याख्यामा प्रश्न उठाएका छन् । भाजपा सांसद सुधांशु त्रिवेदीले औपचारिक पद नलिए पनि सोनियाले जवाफदेहिताविनै ‘सुपर पीएम’को भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । जेडीयू सांसद सञ्जयकुमार झा र उत्तर प्रदेशका मन्त्री दिनेश प्रताप सिंहले भने गठबन्धनको अंकगणित, समाजवादी पार्टीका नेता मुलायम सिंह यादवको असहयोग तथा उनको विदेशी मूललाई लिएर उठेको संवैधानिक विवादका कारण सोनियाले प्रधानमन्त्री पद अस्वीकार गर्नुपरेको दाबी गरेका छन् । सन् १९७५ को संकटकाल सोनियाले संकटकाललाई गल्ती स्वीकार गरे पनि त्यसको गम्भीरता आफूले पछि मात्र बुझेको र नागरिक स्वतन्त्रता निलम्बन गर्ने निर्णय संवैधानिक दायराभित्रै रहेको उल्लेख गरेको विषयमा भाजपाले आपत्ति जनाएको छ । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको शासनकालमा भएका आम गिरफ्तारी र प्रेसमाथिको नियन्त्रणलाई हल्का रूपमा प्रस्तुत गरेर संकटकालको औचित्य पुष्टि गर्न खोजिएको भाजपाको आरोप छ । अपरेसन ब्लु स्टार र सन् १९८४ को शिख विरोधी दंगा सन् २०२७ को सुरुमा पञ्जाबमा हुने विधानसभा निर्वाचनअघि भाजपा नेताहरूले सन् १९८४ को स्वर्ण मन्दिरमा गरिएको सैन्य कारबाही र त्यसपछि भएको शिखविरोधी हिंसाबारे पुस्तकमा गरिएको व्याख्यामाथि प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता एचएस फुल्का र भाजपा महासचिव तरुण चुघले पुस्तकमा संस्थागत संलग्नता तथा इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धीले दिएको विवादास्पद अभिव्यक्तिलाई ढाकछोप गर्दै उनलाई ‘क्लिन चिट’ दिन खोजिएको आरोप लगाएका छन् । दुःख व्यक्त गर्दैमा विगतका कांग्रेस सरकारहरू जवाफदेहिताबाट मुक्त हुन नसक्ने उनीहरूको तर्क छ । राष्ट्रिय सुरक्षा, भ्रष्टाचार र चुनावी राजनीति भाजपा महासचिव तरुण चुघलगायत नेताहरूले पुस्तकमा बाबरी मस्जिद विध्वंस, सन् २००८ को बाटला हाउस मुठभेड, २६/११ को मुम्बई आक्रमण र सन् २००४ देखि २०१४ सम्मको यूपीए शासनकालका भ्रष्टाचार कान्ड, बोफोर्स प्रकरणलगायत विषयलाई बेवास्ता गरिएको वा छनोटपूर्ण ढंगले प्रस्तुत गरिएको आरोप लगाएका छन् । भाजपाले विशेष मतदाता समूहलाई प्रभावित पार्ने र समुदायबीच विभाजन बढाउने उद्देश्यले यी विषयलाई पुस्तकमा उठाइएको टिप्पणी पनि गरेको छ । सोनियाले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र चीनसँगको सीमा विवाद व्यवस्थापनबारे गरेको आलोचनाको पनि पार्टीले प्रतिवाद गरेको छ । प्रधानमन्त्री मोदीबारे टिप्पणी सन् २००२ को गुजरात दंगापछि तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले नरेन्द्र मोदीलाई मुख्यमन्त्री पदबाट हटाउन चाहेको सोनियाको दाबीलाई भाजपाले सरकारी अभिलेखविपरीतको ‘पूर्ण झुट’ भन्दै खारेज गरेको छ । प्रधानमन्त्री मोदीले भेट हुँदा आफूसँग आँखा जुधाउन नचाहने गरेको भन्ने सोनियाको टिप्पणीलाई केन्द्रीय मन्त्री गिरिराज सिंहले तुच्छ र आधारहीन भन्दै व्यंग्य गरेका छन् । प्रकाशन विवाद मोदी सरकारको दबाबका कारण पेन्गुइन र्यान्डम हाउस इन्डियाले पुस्तक प्रकाशन गर्न नमानेको र पछि हार्परकोलिन्सले प्रकाशित गरेको कांग्रेसको आरोपलाई भाजपाले ‘प्रचारबाजी’ भनेको छ । पुस्तकको पाण्डुलिपि सामान्य तथ्य जाँचमा समेत असफल भएको हो कि भन्दै भाजपाले प्रश्न उठाएको छ । भाजपाको रणनीतिक हिसाबकिताब राजनीतिक विश्लेषकहरूले पुस्तकप्रतिको भाजपाको आक्रामक प्रतिक्रियालाई साहित्यिक आलोचनामा मात्र सीमित गरेर हेर्न नमिल्ने बताएका छन् । यसका पछाडि चुनावी र राजनीतिक रणनीति पनि जोडिएको उनीहरूको विश्लेषण छ । मतदाता नामावली पुनरावलोकनको विषयमा राहुल गान्धीले सरकारविरुद्ध प्रदर्शन गरिरहेका बेला भाजपाले बहसलाई वंशवाद र कांग्रेस शासनकालका विवादतर्फ मोड्न खोजेको विश्लेषण गरिएको छ । सन् २०२७ को सुरुमा उत्तर प्रदेश र पञ्जाबमा विधानसभा निर्वाचन हुँदै गर्दा सन् १९८४ तथा यूपीए शासनकालका विवादलाई उठाउनु भाजपा गठबन्धनको चुनावी रणनीतिको हिस्सा हुन सक्ने विश्लेषकहरूको भनाइ छ । यसका साथै नेताहरूका संस्मरणले ऐतिहासिक घटनाको व्याख्यामा प्रभाव पार्ने भएकाले पुस्तक सार्वजनिक भएलगत्तै त्यसको आलोचना गरेर सोनिया गान्धीको राजनीतिक विरासतबारे बन्न सक्ने अनुकूल धारणा रोक्न भाजपा प्रयासरत रहेको विश्लेषण गरिएको छ । कांग्रेसको जवाफ भाजपाको आलोचनापछि कांग्रेस नेताहरू पुस्तक र लेखिकाको बचाउमा उत्रिएका छन् । कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले वर्षौंदेखि राजनीतिक आक्रमण सहँदै आएकी आफ्नी आमालाई आफ्ना अनुभव र दृष्टिकोण सार्वजनिक गर्ने पूरा अधिकार रहेको बताएकी छन् । उनले भनेकी छन्, “उनीहरूले लामो समयसम्म मेरी आमाबारे झुट बोले । अब उहाँले सत्य बोलिरहनुभएको छ ।” कांग्रेस सांसद प्रमोद तिवारीले आगामी पञ्जाब विधानसभा निर्वाचनमा राजनीतिक लाभ लिन भाजपाले सन् १९८४ का ‘पुराना घाउ कोट्याइरहेको’ आरोप लगाएका छन् । उनले कांग्रेस नेतृत्वले विगतमै सिख समुदायसँग माफी मागिसकेको स्मरण गराएका छन् । राजीव शुक्ला र सलमान खुर्शीदलगायत वरिष्ठ नेताहरूले पुस्तकलाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन् । उनीहरूका अनुसार यो राजनीतिक पृष्ठभूमिमा लेखिएको व्यक्तिगत संस्मरण हो । दशकौँसम्म सोनियाको मौनतामाथि प्रश्न उठाउने आलोचकहरू उनी बोल्न थालेपछि पनि आक्रामक बनेको कांग्रेस नेताहरूको भनाइ छ । द हिन्दू , इन्डियन एक्सप्रेस तथा विभिन्न भारतीय राष्ट्रिय समाचार एजेन्सीहरूको समाचारमा आधारित ।
सोनिया गान्धीको आत्मकथाले भारतीय राजनीतिमा तरंग, भाजपा–कांग्रेसबीच आरोप–प्रत्यारोप

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






