काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्ने निर्णयलाई लिएर उठेको विवाद संसदीय छानविनको दायरामा प्रवेश गरेको छ । आयोजना निर्माणको महत्त्वपूर्ण चरणमा पुगेपछि बोलपत्र प्रक्रिया रद्द गरिएको विषयलाई लिएर प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा गम्भीर प्रश्न उठेका छन् । आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्नुको कारण र त्यसबाट परेको समग्र प्रभावबारे अध्ययन गर्न समितिले सम्बन्धित निकायसँग सात दिनभित्र सम्पूर्ण आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यलगायत अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले प्राप्त कागजातको अध्ययनपछि थप छलफल गरी विषयको निरूपण गरिने बताउनुभएको छ । उहाँले राष्ट्रिय गौरवका आयोजना ढिलाइ हुँदा त्यसको असर कुनै एउटा प्रदेश वा क्षेत्र विशेषमा मात्र सीमित नहुने उल्लेख गर्दै मुलुककै आर्थिक, सामाजिक तथा विकास प्रक्रियामा असर पर्ने बताउनुभयो । समितिको छलफलमा ठेक्का रद्द गर्दा हुने प्रत्यक्ष आर्थिक नोक्सानीको हिसाब मात्र पर्याप्त नहुने विषयले विशेष प्राथमिकता पाएको छ । आयोजना सञ्चालन गर्नुको मूल उद्देश्य पूरा हुन नसक्दा राज्य र नागरिकले व्यहोर्नुपर्ने अप्रत्यक्ष क्षति, कृषि उत्पादनमा पर्ने प्रभाव, किसानको आम्दानी र गुमेको अवसरसमेत मूल्यांकन गर्नुपर्ने सांसदहरूको जोड छ । सात दिनभित्र कागजात झिकाउन मागसुनकोशी-मरिण आयोजनाको पछिल्लो विवादको मुख्य केन्द्रमा सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनलाई आधार बनाएर पुरानो बोलपत्र प्रक्रिया रद्द गरिएको निर्णय छ । विभागका महानिर्देशक रजौरियाले सार्वजनिक खरिद नियमावली, २०६४ को १६औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार आयोजनाको हेडवर्क्स, डिसेण्डर, पावरहाउस लगायतका संरचना निर्माणका लागि २०८३ जेठ २५ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । आफूले विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दा प्राविधिक प्रस्ताव खोल्ने काम सम्पन्न भइसकेको र मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले समितिलाई जानकारी गराउनुभएको थियो । त्यतिबेला आयोजना कार्यालयबाट प्राविधिक प्रस्तावको मूल्यांकन प्रतिवेदन स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने निर्णयका लागि फाइल विभागमा पेस भएको थियो । महानिर्देशक रजौरियाले आफूले उक्त प्रतिवेदन अध्ययन गरी स्वीकृति दिएको र आर्थिक प्रस्ताव खोल्ने निर्णयसमेत गरेको बताउनुभएको छ । तर, बोलपत्र आह्वान गर्दा अवलम्बन गरिएको मूल्यांकन विधि र त्यसपछि लागू भएको संशोधित नियमावलीबीच कानुनी तथा प्रक्रियागत सामञ्जस्य नभएको विषय उठेपछि प्रक्रिया रद्द गर्ने निर्णयमा पुगिएको उहाँको भनाइ छ । रजौरियाका अनुसार बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनअनुसार एभरेज बिड प्राइस अर्थात् औसत बोलपत्र मूल्यमा आधारित मूल्यांकन विधि अपनाइएको थियो । तर, २०८३ भदौ ३ गतेदेखि लागू हुनेगरी प्रकाशित १६औँ संशोधनले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिदमा रेटेड पोइन्ट क्राइटेरिया अर्थात् अंकभारमा आधारित मूल्यांकन विधि अपनाउनुपर्ने व्यवस्था गरेको थियो । आयोजनाको प्राविधिक प्रस्ताव खोल्ने मिति भदौ १० गते रहेकाले नयाँ व्यवस्था लागू भइसकेको अवस्थामा पुरानै मूल्यांकन पद्धतिका आधारमा प्रक्रिया अघि बढाउँदा भविष्यमा कानुनी विवाद सिर्जना हुनसक्ने जोखिम देखिएको उहाँले बताउनुभएको छ । नयाँ मूल्यांकन प्रणालीबाट निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता र अन्य मापदण्डको समग्र परीक्षण गर्न सकिने भएकाले आयोजना गुणस्तरीय बनाउन सहयोग पुग्ने विभागको दाबी छ । त्यसैले व्यक्तिगत वा कुनै कम्पनीको हितलाई ध्यानमा नराखी प्रचलित कानुनको पालना र प्रतिस्पर्धात्मक खरिद प्रक्रिया सुनिश्चित गर्न बोलपत्र रद्द गरिएको रजौरियाको भनाइ छ । तर, सांसदहरूले विभागको यो स्पष्टीकरणलाई चित्त बुझाएका छैनन् । बोलपत्र प्रक्रिया सुरु भइसकेपछि संशोधन भएको नियमावलीलाई पुरानो प्रक्रियामा लागू गर्न मिल्ने वा नमिल्ने विषयमा स्पष्ट कानुनी आधार आवश्यक रहेको उनीहरूको धारणा छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले बहुवर्षीय आयोजनाको खरिद प्रक्रिया सुरु भइसकेपछि ऐन तथा नियमावली संशोधन हुँदैमा पुरानो प्रक्रिया रद्द गर्न मिल्ने हो वा होइन ? भन्ने प्रश्न उठाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले पनि संशोधित नियमावलीको प्रयोग र त्यसको कानुनी प्रभावबारे सूक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभएको छ । एमाले सांसद गणेशसिंह ठगुन्नाले समेत विभागीय अधिकारीको जवाफबाट आफूहरू सन्तुष्ट हुन नसकेको धारणा राख्नुभएको छ । त्यस्तै, कांग्रेस सांसद जनकराज गिरीले बोलपत्र प्रक्रिया पुनः सुरु गर्दा समय, लागत र प्रतिस्पर्धामा सहभागी निर्माण कम्पनीको हितमा पर्ने प्रभावबारे स्पष्ट विवरण माग गर्नुभएको छ । गिरी र सांसद योगेश गौचन थकालीले यसअघि नै समितिमा निवेदन दिएर ठेक्का रद्दको निर्णय र पुरानो ठेक्कासँग जोडिएका आर्थिक दायित्वबारे छानविन गर्न माग गर्नुभएको थियो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ठेक्का रद्द गर्ने प्रक्रियामा हस्तक्षेप भएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठेको छ । सांसद खुस्बु ओलीले विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको भन्ने सार्वजनिक विवरणबारे स्पष्टीकरण माग गर्नुभएको थियो । जवाफमा महानिर्देशक रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गर्नुभयो । तर, त्यहाँ कुनै प्रकारको नियन्त्रण वा हस्तक्षेप आफूले अनुभव नगरेको उहाँले स्पष्ट पार्नुभएको छ । यस विषयमा थप तथ्य र कागजात अध्ययनपछि मात्र निष्कर्षमा पुग्नुपर्ने सांसदहरूको धारणा छ । ठेक्का रद्द भए मधेश आन्दोलित हुन्छ : सांसद झाआयोजनाको ठेक्का विवादमा सांसदहरूले उठाएको अर्को महत्त्वपूर्ण पक्ष मधेशका किसानले व्यहोर्नुपरेको सम्भावित क्षति हो । मनिष झाले राज्यकोषमा भएको आर्थिक नोक्सानीको मात्र हिसाब गरेर आयोजना ढिलाइको वास्तविक मूल्यांकन हुन नसक्ने बताउनुभएको छ । उहाँका अनुसार सुनकोशी-मरिण आयोजनाको मुख्य उद्देश्य सुनकोशी नदीको पानी मरिण नदीमा स्थानान्तरण गरी तराई-मधेशका खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनु हो । आयोजना सम्पन्न हुँदा करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा विस्तार हुने लक्ष्य छ । यस्तो महत्त्वपूर्ण आयोजना ढिलाइ हुँदा किसानले गुमाएको उत्पादन, आम्दानी र खेतीका अवसरको समेत हिसाब गर्नुपर्ने उहाँको माग छ । झाले आयोजना समयमै सम्पन्न भएको भए कति जमिनमा खेती विस्तार हुन्थ्यो, कति उत्पादन थपिन्थ्यो र किसानको आम्दानी कति बढ्थ्यो भन्ने विषयको अध्ययन आवश्यक रहेको बताउनुभएको छ । आयोजना ढिलाइ हुँदा कति खेतीका मौसम सिँचाइ सुविधाबिना बिते र आगामी दिनमा पनि किसानले कति समयसम्म यस्तो समस्या व्यहोर्नुपर्ने हो भन्ने विषयलाई समेत क्षतिको मूल्यांकनमा समेट्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सरकारको राजस्वमा कति नोक्सानी भयो भन्ने कुरा मात्र हिसाब गरेर हुँदैन । यसको वास्तविक लागत त किसानले आफ्नो खेतीमार्फत व्यहोरिरहेका छन् । उनीहरूले व्यहोरेको क्षतिको हिसाबकिताब कसले गरिदिने ?’ झाले आयोजनाको ठेक्का रद्द गर्ने निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको हो वा कानुनी तथा प्रक्रियागत कारणले गरिएको हो भन्ने विषयमा निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको छ । भविष्यमा कुनै पनि सरकारले राजनीतिक स्वार्थका आधारमा राष्ट्रिय गौरवका आयोजना रोक्ने वा रद्द गर्ने अवस्था आउन नदिन यस घटनाको गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ । नयाँ बोलपत्र गर्ने सरकारको तयारीयसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने आयोजना अनिश्चितकालसम्म रोक्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले जतिसक्दो चाँडो नयाँ बोलपत्र आह्वान गरी निर्माण व्यवसायी छनोट गरेर काम सुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताउनुभएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षमै आयोजनाको लागत अनुमान स्वीकृत भइसकेकाले त्यसलाई पुनः अद्यावधिक गर्नुपर्ने अवस्था छैन । तर, नयाँ खरिद ऐन तथा नियमावलीअनुसार मूल्यांकन विधि र बोलपत्रसम्बन्धी कागजात अद्यावधिक गर्नुपर्ने भएकाले विभाग र आयोजना कार्यालयले काम गरिरहेका छन् । आचार्यले पुनः बोलपत्र आह्वान गर्दा पुरानो प्रक्रियाको तुलनामा लागत घट्न सक्ने सम्भावनासमेत रहेको बताउनुभएको छ । आर्थिक प्रस्ताव नखोलिएकाले रद्द गरिएको बोलपत्रबाट मुलुकलाई कति आर्थिक नोक्सानी भयो भन्ने निष्कर्ष अहिले नै निकाल्न नसकिने उहाँको भनाइ छ । उहाँले पुरानो ठेकेदारसँग सम्बन्धित धरौटी तथा कार्यसम्पादन जमानतमध्ये केही जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको जानकारी पनि समितिलाई गराउनुभएको छ । खरिदसम्बन्धी अधिकार विभागीय तहमा नै रहने भएकाले यस्ता निर्णयका लागि मन्त्रालयको छुट्टै लिखित स्वीकृति आवश्यक नपर्ने उहाँको स्पष्टीकरण छ । आयोजनाको सुरुङ निर्माणको प्रगति अपेक्षाभन्दा छिटो भएको भए पनि हेडवर्क्सलगायत अन्य संरचनाको निर्माणमा ढिलाइ भएको मन्त्रालयको स्वीकारोक्ति छ ।
सुनकोशी-मरिण ठेक्का विवाद संसदीय छानविनमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






