काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको अटोमोबाइल कम्पनी सीजी मोटर्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ ।

ललितपुर आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सीजी मोटर्सलाई सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले चौधरी ग्रुपको सानेपास्थित मुख्यालयमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहण गर्दै चौधरीले यसलाई कम्पनीको व्यावसायिक उत्तरदायित्व र राष्ट्रको आर्थिक विकासप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिएको बताए । व्यवसायको सफलता नाफा र विस्तारमा मात्र सीमित नभई राज्यप्रतिको दायित्व इमानदारीपूर्वक पूरा गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले करलाई राष्ट्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै प्राप्त सम्मानले कम्पनीलाई अझ जिम्मेवार भएर अघि बढ्न प्रेरित गरेको बताए ।

सीजी मोटर्सले नेपालमा विद्युतीय तथा अन्य सवारीसाधनको बिक्री, वितरण र बजारीकरण गर्दै आएको छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

यसअघि मंसिर १ गते राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा चौधरी ग्रुपअन्तर्गतकै सीजी इम्पेक्स नेपालमा वस्तु व्यापार कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको थियो । त्यसैगरी, निर्वाण चौधरी अध्यक्ष रहेको नबिल बैंक पनि बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो ।

सीजी मोटर्स ललितपुरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज