सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने तथा धम्की दिने आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार टेलिग्राम र एक्स सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ परेका हुन्। ब्युरोका अनुसार टेलिग्राममार्फत एक महिलाका तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गरेको विषयमा परेको उजुरीमाथि अनुसन्धान गर्दा इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राई संलग्न रहेको खुलेको छ। उनलाई काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै एक्स सामाजिक सञ्जालमार्फत पीडित महिलाको अभिलेखमा रहेका भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै चरित्र हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पक्राऊ परेका छन्। प्रहरीका अनुसार यस घटनामा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका हुन्। उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राऊ गरिएको ब्युरोले जनाएको छ। दुवै घटनामा साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी आरोपितको पहिचान गरेको हो। पक्राऊ परेका दुवै जनामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले विकल्प राईमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन र सुजन पाण्डेमाथि चार दिनको म्याद थप अनुमति लिएको जनाएको छ। साइबर ब्युरोले सामाजिक सञ्जालमा कसैका व्यक्तिगत तस्बिर तथा भिडियो दुरुपयोग गर्ने, सार्वजनिक गर्ने धम्की दिने र त्यसबाट चरित्र हत्या गर्ने गतिविधिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। The post सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ appeared first on Technology Khabar.
सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






