काठमाडौँ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा संगठनको नेतृत्वलाई लक्षित गरी भइरहेका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। संगठनले तथ्यहीन आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दन गर्ने गतिविधि नरोकिए कानुनी उपचार खोज्ने चेतावनी दिएको छ। प्याब्सन केन्द्रीय कार्यसमितिले २०८३ मंसिर ३ गते जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा संस्थागत विद्यालयलाई लक्षित गरी भइरहेका अपुष्ट, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिले संगठनको ध्यानाकर्षण गराएको उल्लेख छ। विज्ञप्तिमा आलोचना लोकतन्त्रको आधार भए पनि अपुष्ट आरोप र व्यक्तिगत लाञ्छनालाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर गर्न नसकिने जनाइएको छ। प्याब्सनले नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयले दशकौँदेखि योगदान पुर्याउँदै आएको दाबी गरेको छ। राज्यको सीमित स्रोतसाधनका बीच निजी क्षेत्रले आफ्नै पूँजी, श्रम, जोखिम र जिम्मेवारी वहन गर्दै शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै केही घटनाका आधारमा समग्र संस्थागत विद्यालय क्षेत्रलाई दोषारोपण गर्नु उचित नहुने विज्ञप्तिमा उल्लेख छ। संगठनले विद्यालय सञ्चालकहरू पनि आफ्नो जिम्मेवारीबाट विमुख हुन नहुने स्पष्ट पारेको छ। शिक्षक तथा कर्मचारीको पारिश्रमिक, सेवासुविधा, पेसागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा विद्यालयहरू जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने प्याब्सनको भनाइ छ। तर, संस्थागत विद्यालयसँग सम्बन्धित समस्या र गुनासालाई तथ्य तथा प्रमाणका आधारमा सम्बन्धित निकायमा पुर्याउनुको सट्टा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको विषय बनाउनु समस्या समाधानको उचित बाटो नभएको संगठनले जनाएको छ। विज्ञप्तिमा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादा पालना गर्नुपर्नेमा जोड दिइएको छ। कुनै समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने प्याब्सनको धारणा छ। संस्थागत विद्यालयको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्न दृढ रहने चेतावनी दिँदै प्याब्सनले संवाद, सुधार र सहकार्यबाट शिक्षा क्षेत्रको गरिमा कायम राख्नुपर्ने बताएको छ।
सामाजिक सञ्जालका अभिव्यक्तिप्रति प्याब्सनको आपत्ति, कानुनी उपचारमा जाने चेतावनी

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






