दमक । नेपालीको महान् चाड तिहारलाई लक्षित गरी गीतकार लवकुश गौतमको रचनामा तयार पारिएको तिहार गीत ‘साथीसँगी मिली आयौं भैली गाउनलाई…’को भिडियो सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण गरिएको उक्त गीतको भिडियो अर्जुनधारा नगरपालिका-८ स्थित मेरो रेडियो १०५ मेगाहर्जको सभाहलमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको हो । भिडियो ओएसआर मुभिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । छ मिनेट लामो गीत नेपाली मौलिक परम्परा, रीतिरिवाज तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको गीतकार एवं भिडियोका निर्देशक गौतमले बताउनुभयो । गीतमा वैदेशिक रोजगारीका कारण नेपालीले भोग्नुपरेको बाध्यता, त्यसले निम्त्याउने समस्या तथा सामाजिक प्रभावलाई समेत चित्रण गरिएको छ । केशव पौडेल र पवित्रा ओलीको स्वर रहेको गीतमा पौडेलकै संगीत छ । गीतको भिडियोमा टंक काफ्ले ‘विकल्प’, कौशिलादेवी कोइराला, सत्यनारायण तायल, शान्तमाया बाग्दास, होमप्रसाद तिवारी, देवीमाया विश्वकर्मा, रामकरन रानामगर, बुद्धमाया गुडेललगायत कलाकारको अभिनय छ । भिडियोमा ज्ञानु सुब्बाको नृत्य निर्देशन, विनोदजंग क्षेत्री र सविन पौडेलको छायांकन तथा विनोद जंग फिल्मस्को सम्पादन छ । साहित्यकार एवं कलाकार सत्यनारायण तायलको अध्यक्षता तथा वरिष्ठ संगीतकार कृष्ण योञ्जनको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण समारोहमा नृत्य निर्देशक सुब्बालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी गायिका ओली तथा छायाकारद्वय क्षेत्री र पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार अभागी थेगुवा, रश्मि असफल र पदमबहादुर निरौलालगायतले गीत तथा भिडियोको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । गायिका ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन साहित्यकार एवं कलाकार काफ्लेले गर्नुभएको थियो ।
‘साथीसँगी मिली आयौं भैली गाउनलाई…’ भन्दै लवकुश

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






