बेलायतको कार्य तथा पेन्सन विभाग (डी डब्ल्यूपी) ले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना पहिचान गरेपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विभागले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान तथा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको छ। डी डब्ल्यूपीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग नजिकबाट सहकार्य गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ। सेवाहरू सकेसम्म चाँडो पुनः सञ्चालनमा ल्याउने र सर्वसाधारणलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्ने प्रयास भइरहेको विभागले जनाएको छ। विभागका अनुसार नियमित सामाजिक सुरक्षा भत्ता तथा पेन्सन भुक्तानीमा भने कुनै असर पर्ने छैन। ती भुक्तानी पूर्वनिर्धारित समयअनुसार नियमित रूपमा जारी रहनेछन् । सेवासम्बन्धी सहायता आवश्यक पर्ने सेवाग्राहीले आफ्नो नियमित भत्ता सहायता सम्पर्क नम्बरमा फोन गर्न सक्नेछन् । विभागका कर्मचारीले आवश्यक सहयोग उपलब्ध गराउने जनाइएको छ। बेलायती सञ्चारमाध्यमका रिपोर्टअनुसार साइबर घटनाका कारण लाखौँ मानिस केही अनलाइन भत्ता तथा पेन्सन सेवामा पहुँच बनाउन असमर्थ भएका छन् । बेलायतका कार्य तथा पेन्सनमन्त्री प्याट म्याकफ्याडनले घटनालाई ‘गम्भीर साइबर घटना’ को संज्ञा दिएका छन्। घटनाको कारणबारे अहिले नै थप जानकारी दिन नसकिने उनले बताए। रासस/सिन्ह्वा The post साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द appeared first on Technology Khabar.
साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






