काठमाडौं । नागरिक लगानी कोषले आफ्नो लगानीको दायरा फराकिलो बनाउँदै ठूला पूर्वाधार तथा दीर्घकालीन परियोजनामा लगानी बढाउनुपर्ने सांसदहरूले बताउनुभएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सुरुङमार्ग, अस्पताल, मेडिकल कलेजलगायतका परियोजनामा लगानी विस्तार गर्न उहाँहरूले सुझाव दिनुभएको हो। बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले कानुनले पीपीपी मोडलमा लगानी गर्न नरोकेको भन्दै कोषलाई ठूला परियोजनामा सहभागी हुन आग्रह गर्नुभयो। बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) मोडलमा निर्माण हुने सुरुङमार्गजस्ता दीर्घकालीन पूर्वाधार परियोजनामा सरकारले लगानीको अवसर उपलब्ध गराउन सक्ने भएकाले कोषले पनि त्यस्ता परियोजनामा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो। अस्पताल तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि पीपीपी मोडलमार्फत सहकार्य गर्न सकिने उहाँले बताउनुभयो। आफ्नो गृहजिल्ला बागलुङमा दैनिक पाँचदेखि छ सय जनाले बहिरङ्ग (ओपीडी) सेवा लिने अस्पताल रहेको उल्लेख गर्दै उहाँले त्यसलाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभयो। सरकारले एक्लै लगानी गर्न नसक्ने अवस्थामा नागरिक लगानी कोषजस्ता संस्थासँग सहकार्य गर्न सकिने उहाँको सुझाव थियो। कोषले जनशक्ति परिचालन तथा लगानी व्यवस्थापनमा दक्षता देखाए पनि लगानीको प्रतिफल र इक्विटीको अवस्था अपेक्षाकृत कमजोर रहेको सांसद खड्काले बताउनुभयो। योगदानकर्ताको रकम परिचालन गर्ने भएकाले कोषले अत्यधिक जोखिम लिएर आक्रामक लगानी गर्न नहुने भए पनि जोखिमको डरले लगानीका अवसरबाट पछि हट्न नहुने उहाँको भनाइ थियो। कोषको लगानी सीमित क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले खानी, वन पैदावारका उपउत्पादन तथा आतिथ्य क्षेत्रलगायतमा देखिएका सम्भावनाको अध्ययन गरी नयाँ लगानीका क्षेत्र पहिचान गर्नुपर्ने बताउनुभयो। कोषलाई लगानी विस्तार र नीतिगत सुधारका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्न संसदीय समिति तयार रहेको उहाँले जनाउनुभयो। आवश्यक परे अर्थ मन्त्रालय तथा सरकारलाई निर्देशन दिन सकिने र कोषमाथि विभेद भएको विषय उठे त्यसलाई पनि समितिले गम्भीरतापूर्वक हेर्ने उहाँको भनाइ थियो। सामाजिक सुरक्षा कोषमा सबैलाई अनिवार्य आबद्ध गराउने व्यवस्था गरिएको तर नागरिक लगानी कोषलाई सोहीअनुसार प्रोत्साहन नगरिएको भन्दै उहाँले राज्यले आफ्नै निकायमध्ये एउटालाई प्रवर्द्धन गर्ने र अर्कोलाई उपेक्षा गर्ने नीति लिन नहुने बताउनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले सम्भाव्यता अध्ययन भइसकेर पनि अलपत्र परेका परियोजना अघि बढाउन नागरिक लगानी कोषले पहल गर्नुपर्ने बताउनुभयो। पर्यटन, आर्थिक गतिविधि र रोजगारी सिर्जनामा योगदान पुर्याउन सक्ने रणनीतिक तथा नवीन परियोजना कोष आफैँले छनोट गरी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उहाँको सुझाव थियो। उहाँले त्यस्ता परियोजना अघि बढाउन ऐन तथा कानुनमा बाधा भए संशोधनमार्फत सहज बनाउनुपर्ने बताउनुभयो। कोषका कार्यकारी निर्देशकबाट आवश्यक पहल भए आफूहरू सहयोग गर्न तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो। नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले नागरिक लगानी कोषको संस्थागत आवश्यकता र सरकारले प्रस्ताव गरेको ऐन संशोधन विधेयकबीच तालमेल नमिलेको बताउनुभयो। उहाँले प्रस्तावित संशोधनमा कार्यकारी निर्देशकलाई सरकारले जुनसुकै बेला पदबाट हटाउन सक्ने व्यवस्थामाथि प्रश्न उठाउनुभयो। कार्यकारी निर्देशकलाई स्पष्टीकरणको अवसरसमेत नदिई पदबाट हटाउन सक्ने प्रावधान किन आवश्यक परेको हो भन्ने विषयमा सरकारले स्पष्ट आधार र औचित्य प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो। समिति सभापति डा. कृष्णहरि बुढाथोकीले बैठकमा उठेका प्रश्न तथा सुझाव समेटेर १० दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ। उहाँले नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच अपेक्षाकृत बढ्न नसकेको विषयसमेत उठेकाले पहुँच विस्तारको उपाय, भावी कार्यदिशा र लगानीका सम्भावित क्षेत्र समेटेर स्पष्ट खाका पेस गर्न निर्देशन दिनुभएको हो। कार्यकारी निर्देशक कार्कीले १० दिनभित्र समितिमा प्रतिवेदन बुझाउनुपर्नेछ।
सांसदहरुले भने–ठूला परियोजनाहरुमा नागरिक लगानी कोषले लगानी बढाउनुपर्यो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






