काठमाडौं । सशस्त्र प्रहरी बलमा डेढ महिनादेखि एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त छ। सरकारले वंशीराज दाहाललाई आचरणविपरित काम गरेको भन्दै असोज २३ गते बर्खास्त गरेको थियो। बर्खास्त गर्ने गृहमन्त्रीस्तरीय निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने व्यवस्था भए पनि दाहालले अपिल गरेका छैनन्। यता सरकारले रिक्त पदमा बढुवा गर्ने तयारी गरेको छ। एआईजी बढुवाका लागि तीन जना डीआईजी मुख्य प्रतिस्पर्धी छन्। उनीहरू तीनैजना सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचबाट अन्जनीकुमार पोखरेल एआईजीमा बढुवा भइसकेका छन्। पोखरेलकै ब्याची अब एआईजी बढुवा हुनेछन्। उनीहरू पोखरेलसँगै २०७९ फागुन पहिलो साता डीआईजीमा बढुवा भएका थिए। त्यतिबेला चार जना एकसाथ डीआईजी बने। ती मध्ये दोस्रो वरियतामा बढुवा भएका पोखरले एआईजी बन्दा डीआईजीको पहिलो वरियतामा रहेका सुरेशकुमार श्रेष्ठ भने बढुवामा छुटे। यस पटक पनि उनी बढुवा हुने निश्चित छैन। दिपेन्द्र शाह डीआईजीको दोस्रो र पुरुषोत्तम थापा तेस्रो वरियतामा छन्। उनीहरू मध्येबाटै एआईजीमा बढुवा गर्ने सम्भावना बढी छ। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। दाहालको बर्खास्तीसँगै सीमा सुरक्षा विभाग खालि छ। त्यहाँ अहिले डीआईजी सुरेश श्रेष्ठ कार्यरत छन्। दिपेन्द्र शाह इन्टेलीजेन्स ब्युरोको प्रमुख र पुरुषोत्तम थापा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत छन्। यही ब्याचका दिपक अधिकारी, मनिस थापा र कृष्ण ढकाल पनि डीआईजी भइसकेका छन्। तर उनीहरू श्रेष्ठ, शाह र थापा भन्दा पछि बढुवा भएका थिए। अहिले उनीहरूको एआईजी बन्ने सम्भावना कम छ। तत्काल एआईजीको दरबन्दी खाली हुने सम्भावना पनि छैन। अहिले भएका दुवै एआईजी पालैपालो आईजीपी बन्न सक्छन्। हालका आईजीपी नारायणदत्त पौडेल २०८४ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकास हुनेछन्। त्यसपछि एआईजी गणेश ठाडा मगरको आईजीपी बन्ने सम्भावना छ। उनी २०८२ जेठमा एआईजीमा बढुवा भएका थिए। अबको १७ महिनापछि उनले सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाए झण्डै १५ महिना सशस्त्र प्रहरी बलको प्रमुख रहनेछन्। तर उनलाई आईजीपीमा अरु दुई एआईजीले टक्कर दिने पक्का छ। आईजीपी बन्न पोखरेलसँगै हुनेछ प्रतिस्पर्धा गणेश ठाडा मगर २०८४ चैतमा सशस्त्र प्रहरीको आईजीपी भए त्यसको १५ महिनापछि यो टोलीबाट संगठनको नेतृत्वमा पुग्नेछन्। जो बढुवा हुन्छ उही सशस्त्र प्रहरीमै भर्ना भएर नेतृत्व गर्ने पहिलो आईजीपी बन्ने छन्। अहिलेसम्म सशस्त्र प्रहरीमा नेपाल प्रहरी र नेपाली सेनाबाट आएका अधिकारीहरूले मात्रै नेतृत्व गरेका छन्। अब यो टोलीका नेतृत्व तहमा आईजीपी पौडेल र ठाडा मगर मात्रै छन्। त्यसपछि भने आफ्नै ब्याचका अन्जनी कुमार पोखरेलसँग अहिले बढुवा हुने एआईजीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्नेछन्। ब्याचीहरूलाई पछि पार्दै गत जेठमै पोखरेल एआईजी भएका थिए। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकास भएपछि नारायणदत्त पौडेल आईजीपीमा बढुवा भएका थिए। उनको बढुवासँगै रिक्त एआईजीमा पोखरेल बढुवा भए। पोखरेल मानव स्रोत विभागमा कार्यरत छन्। सरकारले पोखरेलकै नेतृत्वमा वंशीराज दाहालमाथि छानबिन गर्न समिति बनाएको थियो। दाहालले आचरणविपरितका कार्य गरेको निस्कर्षसहितको प्रतिवेदन उनले सरकारलाई बुझाएपछि त्यही आधारमा उनलाई बर्खास्त गरिएको थियो। प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग एआईजी दाहालले संवाद गरेको खुलेको थियो। यस्तै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले प्रहरी कार्यालयमै पुगेर भेट समेत गरेका थिए। सो फेला परेपछि सरकारले उनीमाथि छानबिन अगाडि बढायो। एआईजीको चार वर्षे पदावधि पूरा भएपछि एक वर्ष थप गर्न फाइल तयार भएको थियो। तर उनलाई पदावधि थप गर्नुको सट्टा बर्खास्त गरेर पठाइएको हो।
सशस्त्र प्रहरीको एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





