काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै यसमा देखिएका नेपाली अभिनेता अनुपविक्रम शाहीको भूमिकाले नेपाली फिल्म क्षेत्रमा चर्चा पाएको छ। मंगलबार राति सार्वजनिक साढे चार मिनेट लामो ट्रेलरमा अनुपविक्रमलाई सलमान खानसँग पटक–पटक आमनेसामने देखाइएको छ। फिल्ममा उनी चिनियाँ सेनाका मेजरको भूमिकामा छन्। ट्रेलरमा सलमान भारतीय सेनाको नेतृत्व गरिरहेको देखिन्छन् भने अनुप चिनियाँ सेनाको तर्फबाट उनीसँग भिडन्तमा उत्रिएका छन्। सलमानसँगका संवाद, आमनेसामनेका दृश्य र द्वन्द्वका प्रसङ्गले फिल्ममा अनुपको भूमिका महत्त्वपूर्ण रहेको सङ्केत गर्छ। बलिउडका ठूला कलाकारसँग एउटै पर्दामा देखिनु धेरै कलाकारको सपना हुन्छ। अनुपका लागि भने यो अवसर अपेक्षाभन्दा फरक ढङ्गले प्राप्त भएको देखिन्छ। फिल्मको कास्टिङका क्रममा विश्वभरबाट कलाकारको अडिसन लिइएको र त्यही प्रक्रियाबाट अनुप छनोट भएको निर्देशक अपूर्व लाखियाले फिल्मको सार्वजनिक कार्यक्रममा बताएका थिए। निर्देशक लाखियाले अनुपलाई नेपालका चर्चित कलाकारका रूपमा परिचय गराउँदै फिल्ममा विशेष पात्रको भूमिका दिएको बताएका थिए। कार्यक्रममा अनुपले पनि सलमान खानसँग पहिलोपटक भेट्दाको अनुभव सुनाउँदै आफू निकै नर्भस भएको बताएका थिए। उनले यो अवसर प्रदान गरेकोमा निर्देशक लाखियालाई धन्यवाद दिँदै सलमान खानलाई आफ्नो जीवनमा देवदूतका रूपमा आएको व्यक्ति भनेर प्रशंसा गरेका थिए। सलमानले आफ्नो सपनालाई वास्तविकतामा बदल्न सहयोग गरेको उनको भनाइ थियो। ट्रेलरमा नेपाली कलाकार अनुपविक्रमसँगै स्वर्गीय अभिनेता तथा गायक प्रशान्त तामाङलाई पनि देख्न सकिन्छ। फिल्मको छायाङ्कनकै क्रममा निधन भएका प्रशान्तको भूमिका पनि ट्रेलरमा अर्थपूर्ण देखिएको छ। उनको निधनपछि फिल्ममा उनले निर्वाह गरेको पात्रलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले दर्शकको ध्यान खिच्ने देखिन्छ। अनुपविक्रमको बलिउड यात्रा नेपाली फिल्ममा स्थापित कलाकारका रूपमा लामो सङ्घर्षपछि भएको प्रवेश भने होइन। नेपाली फिल्ममा उनी मुख्यतः खलनायकका रूपमा परिचित छन्। सन् २०१३ मा ‘म्यानहन्ट इन्टरनेसनल नेपाल’को उपाधि जितेपछि उनको मोडलिङ हुँदै टेलिभिजन र फिल्म क्षेत्रमा प्रवेश भएको थियो। उनले सुरुवातमा ‘ठमेल डट कम’मा नायकका रूपमा अभिनय गरेका थिए। उक्त फिल्मले अपेक्षित सफलता हासिल गर्न नसकेपछि उनी ‘हँसिया’मार्फत खलनायकका रूपमा देखिए। यस फिल्मबाट उनको अभिनयले चर्चा पाएको थियो। त्यसपछि ‘कृ’मा अनमोल केसीको विपक्षी पात्रका रूपमा देखिएपछि उनी ‘ह्यान्डसम भिलेन’का रूपमा थप चिनिए। पछिल्लो समय उनी ‘१२ गाउँ २’मा पनि खलनायककै भूमिकामा देखिएका थिए। नेपाली फिल्ममा सीमित भूमिकामा देखिँदै आएका अनुपका लागि ‘मातृभूमि’ बलिउडमा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर बनेको छ। सलमान खानजस्ता सुपरस्टारसँग एउटै फिल्ममा उल्लेखनीय भूमिका पाउनु उनको करियरका लागि नयाँ मोड हुन सक्छ। यद्यपि बलिउडमा उनको आगामी यात्रा कस्तो हुनेछ भन्ने कुरा फिल्मको प्रदर्शन र त्यसपछि प्राप्त हुने अवसरले निर्धारण गर्नेछ। सलमान खान फिल्मस्को प्रस्तुति रहेको फिल्मलाई अपूर्व लाखियाले निर्देशन गरेका हुन्। फिल्ममा सलमानकी पत्नीको भूमिकामा अभिनेत्री चित्रांगदा सिंह देखिएकी छन्। सन् २०२० मा भारत र चीनबीच गलवान उपत्यकामा भएको सैन्य झडपको पृष्ठभूमिमा निर्माण गरिएको फिल्मले सीमामा खटिएका सैनिकको वीरता, बलिदान र पारिवारिक पीडालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। युद्धभन्दा शान्ति ठूलो हुने सन्देश पनि फिल्मले दिने बताइएको छ। यसअघि ‘ब्याटल अफ गलवान’ नाम राखिएको फिल्मको शीर्षक परिवर्तन गरेर ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ बनाइएको हो। फिल्म आगामी डिसेम्बर ४ अर्थात् मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ।
सलमान खानसँग आमनेसामने अनुपविक्रम, ‘मातृभूमि’को ट्रेलरमा दमदार उपस्थिति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






