काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैली नसच्चिए गत भदौ २४ को जस्तै परिस्थिति दोहोरिन सक्ने चेतावनीसमेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शिवाकोटीले सरकार लोकतान्त्रिक प्रक्रियाबाट बने पनि पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको बताए । सरकार र सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको उनको टिप्पणी थियो । सरकार र पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत एकरूपता नरहेको उनले बताए । शिवाकोटीले सरकारका कामको गुण र दोषका आधारमा नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे । तर, सरकारले अहिलेको कार्यशैली नसच्याए गत भदौ २४ मा जस्तै सरकारको नेतृत्व गरिरहेकाहरूले भाग्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो ।
सरकारको कार्यशैली नसच्चिए भदौ २४ कै अवस्था आउन सक्छ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





