काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सम्पदाको चोरी, क्षति र अवैध ओसारपसार नियन्त्रण गर्नुका साथै हराएका तथा चोरी भएका प्राचीन वस्तु फिर्ता ल्याउने अभियान अघि बढाएको छ । यसका लागि महानगरपालिकाले नमुना फाउन्डेसनसँग सहकार्य गर्दै सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र चोरी भएका वस्तुको पुनःप्राप्तिमा पहल थालेको हो । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले समुदायको क्षमता विकास र जनचेतना अभिवृद्धिमार्फत काठमाडौँको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले सहभागितामूलक कार्यक्रम अघि बढाइएको बताइन् । समझदारीअनुसार महानगर क्षेत्रभित्रका सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, जीर्णोद्धार, मर्मतसम्भार, अभिलेखीकरण र सुरक्षा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । सम्पदा क्षेत्रमा रहेका मूर्ति, कलाकृति तथा अन्य प्राचीन वस्तुको चोरी र अवैध ओसारपसार नियन्त्रण गर्नुका साथै हराएका वस्तुको पहिचान र पुनःप्राप्तिका लागि काम गरिनेछ । कार्यवाहक प्रमुख डङ्गोलले विभिन्न निकायबाट छरिएर भइरहेका सम्पदा संरक्षणका गतिविधिलाई एकीकृत गर्दै महानगरपालिकाको नेतृत्वमा अघि बढाउन समझदारी गरिएको बताइन् । उनका अनुसार जनप्रतिनिधि, कर्मचारी, सम्पदा संरक्षणमा संलग्न जनशक्ति र स्थानीय समुदायलाई सम्पदाको पहिचान तथा संरक्षणप्रति सचेत बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीले सहभागितामूलक कार्यक्रम सञ्चालनका लागि संस्थागत तथा कानुनी आधार तयार गरेको बताए । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा चिनाउने ऐतिहासिक सम्पदाको पहिचान र संरक्षणमा महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताए । उनले सहरका गल्ली र चोकमा रहेका प्राचीन वस्तुको समेत व्यवस्थित अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए । नमुना फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले हराएका तथा चोरी भएका सांस्कृतिक वस्तु फिर्ता ल्याउने अभियान सन् २००३ देखि सञ्चालन हुँदै आएको जानकारी दिए । उनका अनुसार पछिल्लो पाँच वर्षमा ११८ वटा मूर्ति फिर्ता ल्याइएको छ । महानगरपालिकासँगको सहकार्यमा आगामी पाँच वर्षभित्र एक हजार प्राचीन वस्तु फिर्ता ल्याउने लक्ष्य राखिएको पुरीले बताए ।
सम्पदा चोरी नियन्त्रण र हराएका प्राचीन वस्तु फिर्ता ल्याउन कामपाको पहल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





