काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानून सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले नयाँ कानून थप्दै जाने तर पुराना कानून संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताएका हुन् । अर्थमन्त्री वाग्लेले विभिन्न अध्ययन र प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रश्ताव अघि बढाइएको जानकारी दिँदै नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नु भन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको बताए । नियमन आवश्यक भएपनि अत्याधिक कानूनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पु¥याउनसक्ने उनको भनाइ छ । एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभाष उत्पन्न हुने उनले बताए । पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता ९एआई० को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने उल्लेख गरे । पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ । अर्थमन्त्री वाग्लेले भने, “नेपालमा नयाँ कानून बनाउने तर पुराना कानून संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानून थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पु¥याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ । यसै सन्दर्भमा प्रतिवेदनले सिफारिस गरेका १५ वटा ऐनमध्ये केही अर्थ मन्त्रालय र केही अन्य मन्त्रालयको कार्यक्षेत्रमा पर्छन् । त्यसैले सम्बन्धित मन्त्रालयहरूले आ–आफ्नो जिम्मेवारीअनुसार सुधार प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका ऐन खारेज गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रश्ताव गरिएको छ ।” अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानूनी व्यवस्थाको उदाहरण दिँदै नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानून आइसकेको अवस्थामा पुराना कानूनको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने बताए ।
समय सापेक्ष नरहेका कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानून सुधार गर्न आवश्यकः अर्थमन्त्री

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






