काठमाडौं। कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ। टोलीमा सन्दीप लामिछाने, बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन्। बलिङतर्फ सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र राशिद खान स्पिनरको भूमिकामा रहनेछन् भने सोमपाल कामी र दीपक डुम्रे तीव्र गतिका बलरका रूपमा रहनेछन्। ब्याटिङको जिम्मेवारी कुशल भुर्तेल, लोकेश बम, अर्जुन कुमाल, सन्दीप जोरा र बासिर अहमदले सम्हाल्नेछन्। नोभेम्बर १९ देखि २९ तारिखसम्म कतारको दोहामा सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान शाहिन्स र यूएई पनि रहेका छन्। नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ। वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियम र युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा हुने प्रतियोगिता ५० ओभरको एकदिवसीय ढाँचामा खेलाइनेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरू नोभेम्बर २६ र २७ मा हुनेछन् भने फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा

Read Complete Original Article
Published originally on नेपालन्युज






