Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय
Photo / Coverage: केन्द्रबिन्दु

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ। तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि २०० सम्म पर्ने गरेको छ। गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ। मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य रु २०० पर्छ। तल्लो क्षेत्रमा रु ३० मा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै रु १०० खर्च हुने स्थानीय निमा दोर्जेले बताइन्। ‘पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै रु १०० पर्छ। आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु २०० पुग्छ’, उनले भनिन्। सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो रु ८० पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य रु १५० पर्ने गरेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट रु १०० मा नुन पाइने स्थानीय काल्देन छेवाङले बताइन्। ‘पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो रु २५ भाडा लाग्छ । त्यतिबेला नुनको मूल्य रु १०० पर्छ’, उनले भनिन्, ‘वर्षायाममा ढुवानी भाडा प्रतिकिलो रु ७० सम्म पुग्छ । त्यसअनुसार सामानको मूल्य पनि बढ्छ।’ वडा नं ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिकिलो नुनको मूल्य रु १०० देखि १७० सम्म पर्ने स्थानीयवासीले बताएका छन्। त्यस्तै, चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयोनुनको रु १८० देखि २०० सम्म तिर्ने गरेका छन् । पाङसिङबाट डेढदेखि दुई दिनको पैदलदूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ६० भाडा लाग्ने गरेको छ। त्यहाँबाट केही वर रहेको लामागाउँसम्म रु ५५ र छेकम्पारको छेकम गाउँसम्म प्रतिकिलो रु ५० ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिए । छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य रु १५० पर्छ। गाउँपालिका–६ चुम्लिङमा भने एक प्याकेट आयो नुनको रु १०० पर्ने स्थानीय गोपाल लामाले बताए। उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो रु ३० भाडा लाग्छ। सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ । कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए। ‘उत्तरी गोरखाको मागअनुसार कर्पोरेसनले आयो नुन पठाउँछ । हामीले यहाँबाट प्रतिकिलो रु २८ का दरले नुन पठाएका हुन्छौँ’, उनले भने, ‘पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ।’ सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन । अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए। ‘सरकारले जगतसम्म नुन पुर्‍याउन ढुवानी अनुदान दिन्छ। त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ । त्यसैले हामीले चर्को खच्चड ढुवानी भाडा तिर्नैपर्छ’, उनले भने। नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ । तर, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ । बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ। बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन। फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन्। सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा पनि प्रतिप्याकेट रु ३० पर्ने आयोनुनको मूल्य रु ६० पर्ने स्थानीय कुमारी गुरुङले बताइन्। आर्खेटबाट फिलिमसम्म खाद्यान्न आइपुग्दा ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उनको भनाइ छ। मोटर पुगेको वडा नं ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो। खच्चडबाट मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्‍याउँदा प्रतिकिलो रु १०० ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले जानकारी दिए। उनका अनुसार तीन दिनको पैदल यात्रापछि गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च प्रतिकिलो रु १०० पर्छ। रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो बलिङ
Latest NewsJust now

सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो बलिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। सुदूरपश्चिमले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। शेरफेन रदरफोर्ड बाहिरिँदा थारिन्दु रत्नायके टोलीमा आएका छन्। ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट
Latest NewsJust now

राष्ट्रपति पौडेलसँग कोरियाली राजदूतकाे शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Park Tae-kyung ले शिष्टाचार भेट गरेका छन्। उक्त भेटघाट काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा भएको हो। राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा नेपाल... ...

रातोपाटी
कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

कर्णालीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो। एनपीएलमा अहिलेसम्म कर्णालीले सुदूरपश्चिमलाई हराउन सकेको छैन। एनपीएलको पहिलो सिजन सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले तथा दोस्रो सिजन ४५... ...

नेपालखबर
दैलेख प्रमुख जिल्ला अधिकारीविहीन
Latest NewsJust now

दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

दैलेख।दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ। दसैं सकिएर तिहार नजिकिँदै गर्दा समेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ। जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play