सुनसरी।बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन्। वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा आज आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन्। ३५ अंक प्राप्त गरी उपाधि जितेका उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा मधुवनका भरत भुजेल ३३ अंक प्राप्त गरी दोस्रो भए। उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी चतराका मोहन भुजेल ३२ अंकसहित तेस्रो भइ १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका चतरा हाइकिङ समूहका संस्थापक नवराज विष्टले जानकारी दिए। विजेतालाई कोशी प्रदेशका पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतो, वडा नं ८ का अध्यक्ष रोशन खड्का, प्रतियोगिताका प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा राज्यमन्त्री परियारले कोशी नदी किनारमा वर्षौंदेखि अनौपचारिक रूपमा खेलिँदै आएको मनोरञ्जनात्मक खेललाई प्रतियोगिताका रूपमा आयोजना गरिएकामा खुसी व्यक्त गरिन्। उनले यस खेललाई संस्थागत रूपमा विकास गर्दै अघि बढाउन आयोजकलाई सुझाव दिइन्। लोपोन्मुख पानीचरा सीम तित्राको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए। कोशी पन्छी समाजको सहकार्य तथा स्थानीय हाम्रो एकता क्लब मधुवनको सहआयोजनामा ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्द्धन’ नाराका साथ विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको छ।
सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

Read Complete Original Article
Published originally on नेपालन्युज






