सङ्खुवासभा। जिल्लाका १० वटै स्थानीय तहमा आगामी पुस १ देखि १० गतेसम्म क्षयरोगका नयाँ बिरामी खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा अभियानबारे जानकारी दिइएको हो। प्रयोगशाला परीक्षणको दायरा बढाएर नयाँ बिरामी पहिचान र उपचारलाई प्रभावकारी बनाउने लक्ष्य रहेको क्षयरोग फोकल पर्सन विनोद थापाले बताए। जिल्लामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको साउनयता मात्रै ३० जना नयाँ बिरामी फेला परेको थापाले जानकारी दिए। कार्यक्रममा गत आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्दै नयाँ बिरामीको पहिचान, उपचाररत बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्क विश्लेषण गरिनेछ। कोशी प्रदेशमा चार हजार ७४५ जना क्षयरोगका बिरामी रहेका छन्। तीमध्ये सबैभन्दा बढी सुनसरीमा एक हजार ३३० र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन सुजाता बुढाथोकीले बताइन्। जिल्लाका १८ वटा स्वास्थ्य संस्थामा क्षयरोगसम्बन्धी सेवा उपलब्ध छ। तीमध्ये आठवटामा परीक्षण सेवा सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। समीक्षा कार्यक्रममा १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रयोगशाला प्रमुख तथा स्वास्थ्यकर्मी सहभागी छन्। क्षयरोगको समयमै पहिचान, नियमित परीक्षण, औषधिको पूर्ण मात्रा सेवन र सङ्क्रमण रोकथामका उपायलाई प्रभावकारी बनाउन आगामी कार्ययोजनाबारे छलफल भइरहेको कार्यालय प्रमुख महेश भट्टले बताए।
सङ्खुवासभामा पुस १ देखि क्षयरोग खोज तथा पहिचान अभियान

Read Complete Original Article
Published originally on नेपालन्युज






