काठमाडौं । यौन दुर्व्यवहारसम्बन्धी आरोपमा छानबिन समितिले विश्वसनीय प्रमाण फेला पारेपछि अमेरिकी सांसद जिमी गोमेजले संसद् सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद गोमेजले आगामी डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने बताएका हुन् । अमेरिकी प्रतिनिधिसभाको नैतिकता समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उनले संसद्कै एक महिला कर्मचारीमाथि अनिच्छित यौन प्रस्ताव र दुर्व्यवहार गरेको विश्वसनीय प्रमाण भेटिएको उल्लेख छ । प्रतिवेदनअनुसार गोमेजले आफूभन्दा कनिष्ठ कर्मचारीसँगको शक्ति असन्तुलनलाई बेवास्ता गर्दै दुई पटक अनिच्छित यौन व्यवहार गरेका थिए । सन् २०२४ फेब्रुअरीमा वासिङ्टन डीसीस्थित एक बारमा उनले ती महिलाको स्कर्टभित्र हात पुर्याएको आरोपसमेत प्रतिवेदनमा उल्लेख छ । उक्त घटनालाई महिलाले आफ्नो सहमतिविपरीत भएको बताएकी छन् । समितिको प्रतिवेदनप्रति असहमति जनाउँदै गोमेजले आफूले गरेका व्यक्तिगत गल्तीको जिम्मेवारी लिने बताएका छन् । तर, प्रतिवेदनका निष्कर्षसँग भने आफ्नो गम्भीर असहमति रहेको उनको भनाइ छ । उनले राजीनामा दिनुबाहेक अर्को विकल्प नरहेको बताएका छन् । गोमेज विवाहित सांसद हुन् । यसअघि पनि उनी एक पार्टीमा कनिष्ठ महिला कर्मचारीलाई चुम्बन गरेको घटनासम्बन्धी उजुरीपछि छानबिनको दायरामा आएका थिए । गत अगस्टमा उनीमाथि औपचारिक अनुसन्धान सुरु भएको थियो । यसै महिनाको मध्यावधि निर्वाचनमा पनि गोमेज पराजित भएका थिए । डेमोक्र्याट उम्मेदवार एन्जेला गोन्जालेज–टोरेससँग करिब २५ प्रतिशत मतान्तरले हारेका उनी यसै वर्षको अन्त्यमा संसद्बाट बाहिरिने तयारीमा थिए । नैतिकता समितिले भने गोमेज अर्को महिना संसद्बाट बाहिरिने भएकाले उनीमाथि थप संसदीय कारबाही गर्न पर्याप्त समय नभएको जनाएको छ ।
संसद्कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






