काठमाडौँ, मंसिर २ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको बताउँदै त्यसको रक्षाका लागि नेपाली जनता उठ्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक राजनीतिक आतंक, भय र त्रासको छायाँमा पर्दै स्वेच्छाचारी शासनतर्फ अघि बढिरहेको दाबी गर्नुभयो । “देशले केही खोजिरहेको बेला यो भेला हुँदैछ । अहिले देश राजनीतिक रूपमा आतंकको छायाँमुनि, भय र त्रासको छायाँमा स्वेच्छाचारी शासनतर्फ अघि बढिरहेको छ,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले आतंकारी र अलोकतान्त्रिक तरिकाबाट सत्ता कब्जा गर्ने, संविधान मास्ने तथा लोकतन्त्र समाप्त पार्ने प्रयास भइरहेको बताउनुभयाे । देश आर्थिक र सामाजिक रूपमा अधोगतितर्फ अघि बढिरहेको तथा नेपाली समाजलाई उल्टो बाटोतर्फ धकेल्ने काम भइरहेको उहाँको भनाइ थियो ।“हाम्रो संस्कृति र सभ्यतामाथि चर्को हमला भइरहेको छ । जनता माथि अनुत्तरदायी सरकार छ । खरबौँ पैसा थन्किएर बसेको छ, पीडितहरू दुःखमा पिल्सिएका छन्,” उहाँले भन्नुभयो । सरकारसँग काम गर्ने पर्याप्त अवसर र स्रोतसाधन हुँदाहुँदै पनि जनताका पक्षमा काम हुन नसकेको ओलीको टिप्पणी थियो । जनताप्रति सरकार उत्तरदायी नभएको आरोप लगाउँदै उहाँले राज्यका निकायहरू समेत प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा अहिलेसम्म टुंगो नलागेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । राज्यका निकायहरू आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कारण के हो उहाँहरूलाई पनि थाहा छ, अरूलाई पनि थाहा छ ।” जेनजी आन्दोलनको प्रसंग उठाउँदै अध्यक्ष ओलीले विद्यार्थीहरूलाई धोका दिएर सडकमा उतारिएको र तालिमप्राप्त अपराधीहरूबाट देशमा वितण्डा मच्चाउने काम भएको बताउनुभयाे । उहाँले भन्नुभयो, “नेपाली जनतालाई धोका दिएर, जेनजी विद्रोहको बहाना बनाएर, विद्यार्थीलाई धोका दिएर सडकमा निकालेर तालिमप्राप्त अपराधीले देशमा वितण्डा मच्चाउने काम भयो ।” आन्दोलनका क्रममा कार्यपालिका, न्यायपालिका र संसद् भवनदेखि राजनीतिक दलका कार्यालय तथा जनप्रतिनिधिमूलक संस्थाहरूमा आगजनी भएको र व्यक्तिगत सम्पत्तिसमेत जलाउने तथा लुट्ने काम भएको उहाँले बताउनुभयो । उक्त घटनामा ७६ जनाको ज्यान गएको भनिएको प्रसंग उल्लेख गर्दै ओलीले गोली कसले चलायो र नागरिकको ज्यान कसले लियो भन्ने प्रश्न उठाउनुभयो । “७६ जनाको ज्यान गयो भन्छन् । कसले लियो त्यो ज्यान ? गोली कसले चलायो ?” उहाँले प्रश्न गर्नुभयो । घटनाको छानबिन गर्न गठित आयोगहरूले आश्चर्यजनक रूपमा कारबाहीको सिफारिस गरेको उहाँको टिप्पणी थियो । प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो । संसद्को निर्धारित कार्यसूचीमा नरहेको समयमा प्रधानमन्त्रीले नेपालको सीमा मिचिएको विषयमा दिएको अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन नमानेको उहाँको आरोप थियो । यस्तो विषयप्रति नेपाली जनता सचेत हुनुपर्ने उहाँले बताउनुभयो । संविधान संशोधन गर्न सकिने भए पनि संविधान मिच्ने र नमान्ने कार्य स्वीकार्य नहुने ओलीको भनाइ थियो । “संविधान संशोधन हुनसक्छ, तर संविधान मिच्नु र नमान्नु अर्को कुरा हो । संविधान मिच्ने काम भएको छ । त्यसलाई मिच्न नदिन नेपाली जनता उठ्नुपर्छ,” उहाँले जोड दिनुभयो । वर्तमान परिस्थितिमा देशका राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले त्यसको प्रमुख भूमिका नेकपा एमालेले निर्वाह गर्नुपर्ने बताउनुभयो । एमालेको संघर्षपूर्ण इतिहास स्मरण गराउँदै उहाँले भन्नुभयो, “कायर होइन एमाले, देशका लागि जेलनेल खाएर आएको पार्टी हो ।” उहाँले राष्ट्रियता, लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधान मिच्न नदिन नेपाली जनता उठ्नुपर्छ : एमाले अध्यक्ष केपी ओली

Read Complete Original Article
Published originally on जनताटाइम्स






