बाजुरा।छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ। यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन्। खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा संकटमा पर्न थालेको हो। डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो। प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ। प्राकृतिक सुन्दरताका कारण पर्यटकीय सम्भावना उच्च भए पनि आवश्यक संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा तालले अपेक्षित पर्यटकीय पहिचान बनाउन नसकेको स्थानीय राजेश सुनारले बताए। “खप्तड छेडेदह–४ को पड्नापानीमा लागेको पहिरो ताल नजिकै पुगिसकेको छ”, उनले भने, “त्यहाँका करिब ७० परिवार बढीको खेतीयोग्य जमिन बगाएको छ, अब तालको छेउमै पुगेका कारण खोलिने सम्भावना छ, तत्काल कुनै पहलकदमी नभए ताल खोलिएर सयौं परिवार विस्थापित हुने जोखिम छ।” उक्त ताल खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा पर्छ। प्रसिद्ध धार्मिक तथा पर्यकटीय क्षेत्र खप्तड र छेडेदह तालकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ। तर तालको पहिरो रोकथाम र संरक्षणका लागि ठोस पहल नहुँदा अस्तित्व नै खतरामा पर्ने जोखिम रहेको स्थानीयहरु बताउँछन्। खप्तड छेडेदह–४ का वडाध्यक्ष दलबहादुर धामीले पुर्खादेखिको जग्गा विवादका कारण नै ताल ओझेलमा परेको बताए। “ताल वरिपरि रहेको जग्गा वडा नं ४ र ७ का स्थानीयले आ–आफ्नै भनेर दाबी गर्दै आएको छन्”, अध्यक्ष धामीले भने, “जग्गा विवाद समाधान नहुँदा तालको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा पालिकाले केही गर्न सकिरहेको अवस्था छैन।” वडाध्यक्ष धामीका अनुसार जग्गाधनीले गाउँपालिकाले नीतिगत रूपमा निर्णय गरेर आफूलाई मुआब्जा दिएर व्यवस्थित गर्नुपर्ने अडान राख्दै आएका छन्। यस्तै, खप्तड छेडेदह–७ का वडाध्यक्ष खगेन्द्र रावतले स्थानीयबीच पहिलेदेखिकै विवाद रहेको भन्दै समाधानका लागि अघिल्लो कार्यकालबाट नै पहल गरिरहेको भए पनि नसकिएको बताए। गाउँपालिकाकी उपाध्यक्ष बिशुदेवी नाथले गाउँपालिकाकै नामकरण गरिएको यो ताल संरक्षण गर्न नसके भविष्यमा अस्तित्व संकटमा पर्ने जानकारी दिइन्। गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले जग्गा विवाद समाधान गर्न नसक्दा पहिरो रोकथाम र संरक्षणका लागि काम गर्न नसकिएको बताए। यसअघि वडाध्यक्षमार्फत सम्बन्धित वडाका स्थानीयसँग छलफल सुरु गरे पनि समाधान नहुँदा अब केही दिनमै सबै पक्षको सहभागितामा व्यापक छलफल गरी निष्कर्षमा पुग्ने प्रयास भइरहेको उनले बताए। “ताल आसपासको जग्गा नापेर आफूहरूले मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ”, उनले भने, “जग्गा विवादकै कारण तालको अस्तित्व संकटमा पर्ने जोखिम छ, अब विवादभन्दा पनि सहयोग र समन्वय गरेर निर्णायक छलफल गरी संरक्षण र प्रवर्द्धनमा जुट्नु पर्छ।” यस्तै, अध्यक्ष रावतकाअनुसार उक्त तालमा पूर्वाधार निर्माणका लागि स–सानो बजेट पालिका र प्रदेशबाट बर्सेनि यसअघि ताल नजिकै पुगेको पहिरो नियन्त्रणका लागि पालिकाले डिपिआर गरेको छ तर जग्गा विवादकै कारण तालको डिपिआर हुन नसकेको उनको भनाइ छ। ताल अवलोकनका लागि बझाङ, अछामलगायतका जिल्लाबाट समेत पर्यटकहरू पुग्ने गरेका छन्। यो ताल बझाङ नजिकै अर्थात् मार्तडी थामलेख तथा खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडक खण्डको छेउमै पर्छ। रारा खप्तड पैदल यात्रासँगै जोडिएकाले तालको महिमा अझ बढी छ। तर संरक्षण अभावमा ओझेलमा छ। छेडेदह तालको महत्व केवल प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। धार्मिक आस्थाले पनि प्रसिद्ध छ। तालकै छेउमा खापर मन्दिर छ। ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके बाजुराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको स्थानीय गणेश बुढाले बताए। पर्यटकलाई आकर्षित गर्न तालसम्म पुग्ने सडक तथा पदमार्गको स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्ड र फोहर व्यवस्थापन जस्ता आधारभूत पूर्वाधार आवश्यक छन्। त्यसैगरी तालको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी पर्यटकीय संरचना निर्माण गर्नुपर्ने देखिन्छ। ताल संरक्षणका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरी बजेट तथा कार्यक्रमको व्यवस्था गर्न राज्यको पनि ध्यान जान जरुरी छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण छेडेदह ताल अहिले संरक्षण, व्यवस्थित विकास र प्रवर्द्धनको पर्खाइमा छ। पहिरो नियन्त्रण गर्दै यसको प्राकृतिक पहिचान जोगाउन सम्बन्धित निकायले समयमै ध्यान दिनसके यो ताल जिल्लाकै पर्यटन विकास र स्थानीय समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्ने देखिएको छ।
संरक्षण अभावमा छेडेदह ताल

Read Complete Original Article
Published originally on नेपालन्युज






