काठमाडौं । वरिष्ठ पत्रकार, साहित्यकार तथा वामपन्थी आन्दोलनका अभियन्ता शक्ति लम्सालको स्मृतिमा प्रकाशित कृति लोकार्पण गरिएको छ । यस अवसरमा प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले स्थापना गरेको ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार-२०८३’ बाट वरिष्ठ आख्यानकार स्वर्गीय रमेश विकललाई सम्मान गरिएको छ । नेपालको वामपन्थी साहित्य, पत्रकारिता तथा सामाजिक न्यायको आन्दोलनमा विकलले पुर्याएको योगदानको कदरस्वरूप मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार एक सय रुपैयाँ रहेको छ । स्वर्गीय शक्ति लम्सालकी धर्मपत्नी कृष्णा लम्साल र परिवारले स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने जनाइएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले शक्ति लम्साल नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र देश विकासका सवालमा कसैसँग सम्झौता नगर्ने व्यक्तित्व भएको बताउनुभयो । नेपाली नागरिकको हित र सार्वभौमसत्ताका पक्षमा लम्साल सदैव अविचलित रहेको उहाँको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहले शक्ति लम्सालको राजनीतिक तथा वैचारिक योगदानको स्मरण गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा कम्युनिष्ट नेता हिरण्यलाल श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङ, कम्युनिष्ट नेता लोकनारायण सुवेदी, वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रा.पुरुषोत्तम दाहाल, पत्रकार तथा विश्लेषक महेश्वर दाहाल, अशोक सुवेदीलगायतले लम्सालको योगदानबारे चर्चा गर्नुभएको थियो । वक्ताहरूले शक्ति लम्सालको आदर्श, त्याग र निष्ठालाई राजनीतिक संस्कारका रूपमा विकास गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए । साहित्य र पत्रकारितालाई सामाजिक रूपान्तरण, न्याय र परिवर्तनको अभियानसँग जोडेर अघि बढाउनुपर्ने धारणा पनि उनीहरूले व्यक्त गरे । कार्यक्रममा सहभागी वक्ताहरूले लम्सालको पत्रकारिता, साहित्यिक चेतना र राजनीतिक जीवनका विभिन्न पक्षमाथि चर्चा गरेका थिए । लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटक-पटक जेलजीवन बिताउनुभएका लम्सालले वामपन्थी आन्दोलन, स्वतन्त्र पत्रकारिता र सामाजिक न्यायका पक्षमा जीवन समर्पण गर्नुभएको थियो । उहाँको २०७२ साल कात्तिकमा निधन भएको थियो । कार्यक्रमको अध्यक्षता पूर्वसांसद नारायण शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य कृष्णा लम्सालले राख्नुभएको थियो । शक्ति लम्सालकी छोरी प्रज्ञा लम्सालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शक्ति लम्सालको स्मृतिमा कृति लोकार्पण, रमेश विकललाई पुरस्कार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






