काठमाडाैं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा भारत ‘ए’ का युवा ब्याटर वैभव सूर्यवंशीले युएईविरुद्ध कीर्तिमानी दोहोरो शतक प्रहार गर्दै क्रिकेट इतिहासमा नयाँ विश्व कीर्तिमान रचेका छन्। दोहामा सम्पन्न खेलमा वैभवले ५२ बलमै दोहोरो शतक पूरा गर्दै सिनियर व्यावसायिक क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। युएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका वैभवले कुल ५३ बल सामना गर्दै ७ चौका र २८ छक्काको मद्दतले २०४ रन बनाए। एउटै लिस्ट ‘ए’ इनिङ्समा २८ छक्का प्रहार गर्दै उनले सर्वाधिक छक्का प्रहार गर्ने विश्व कीर्तिमान पनि भङ्ग गरेका छन्। वैभवले यसै इनिङ्समा १६ बलमा अर्धशतक, २८ बलमा लिस्ट ‘ए’ इतिहासकै सबैभन्दा छिटो शतक र ४० बलमा सबैभन्दा छिटो १५० रन पूरा गर्दै एकपछि अर्को कीर्तिमान तोडेका थिए। वैभवको ऐतिहासिक विस्फोटक पारीको मद्दतले भारत ‘ए’ ले मात्र १४.२ ओभरमा ३ विकेट गुमाएर २५४ रन बनाउँदै युएईलाई ७ विकेटले पराजित गर्यो। भारत ‘ए’ का लागि रिंकु सिंहले १९ बलमा २ चौका र २ छक्कासहित अविजित २७ रन जोड्दा अभिषेक शर्माले १२ र प्रभसिमरन सिंहले ३ रन बनाए। युएईका लागि जाहिद अली, इबरार शाह अहमद र कप्तान बासिल हमिदले समान १–१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो।
वैभव सूर्यवंशीको विश्व रेकर्ड, ५२ बलमै हाने २०० रन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






