काठमाडौँ । वैदेशिक रोजगारीका नाममा श्रमिकलाई सङ्गठित रूपमा ठगी गरेको र १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ । सीआईबीले मङ्सिर २ गते विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेको जानकारी दिएको हो । पक्राउ पर्ने अन्यमा तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा उपसचिव निर्मला गुरुङ रहेका छन् । नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय गरेको आरोप उनीहरूमाथि छ । सीआईबीका अनुसार उक्त प्रक्रियाबाट ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १५ हजार ९८० बेलायती पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो । यसबाट मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी पुगेको ब्युरोको दाबी छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सीआईबीले काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभएकाे हाे ।
वैदेशिक रोजगारीको नाममा १ अर्ब ६९ करोड ठगीको आरोप, दुई पूर्व श्रममन्त्रीसहित ६ जना पक्राउ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





![[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/masal1-18112026020220-watermarked.jpg)
