काठमाडौं। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने प्रलोभनमा नेपाली नागरिकमाथि हुने ठगी, मानव तस्करी र श्रमशोषण नियन्त्रण गर्न गृह मन्त्रालयले उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ। कार्यदलले आजैदेखि काम सुरु गर्ने भएको छ। वैदेशिक रोजगारीमा पठाउने भन्दै एउटा कामको सम्झौता गरेर विदेशमा अर्कै काममा लगाउने, सम्झौताअनुसार पारिश्रमिक तथा सेवा–सुविधा नदिने र भिजिट भिसाको प्रलोभनमा पारेर ठगी गर्ने गतिविधि बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि विशेष पहल थालेको हो। त्यसैगरी, कन्सल्टेन्सीमार्फत विदेश पठाउने बहानामा रकम असुल्ने अवैध गतिविधिमाथि पनि निगरानी बढाइने भएको छ। दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन २०२६’ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा नेपाली समुदायसँग गरेको छलफलका क्रममा यस्ता समस्या उठेका थिए। त्यस अवसरमा उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा आपराधिक गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यले स्वदेश फर्किएलगत्तै गृहमन्त्री गुरुङले शुक्रबार गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बोलाएका थिए। बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसहित विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए। बैठकले वैदेशिक रोजगारीका नाममा हुने आर्थिक ठगी, रोजगार करार सम्झौताको उल्लङ्घन, कन्सल्टेन्सीमार्फत सञ्चालन हुने अवैध गतिविधि तथा भिजिट भिसाको दुरुपयोग गरी हुने मानव तस्करी र श्रमशोषण नियन्त्रणका लागि संयुक्त विशेष कार्यदल गठन गर्ने निर्णय गरेको हो। गठित कार्यदललाई ठगी तथा मानव तस्करीमा संलग्न व्यक्ति र गिरोहको पहिचान गर्ने, गैरकानुनी गतिविधिको सूक्ष्म निगरानी तथा अनुगमन गर्ने र दोषीलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले यस्ता गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ। साथै, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई आधिकारिक प्रक्रिया पूरा गरेर मात्र विदेश जान, रोजगार सम्झौताका सर्तहरू राम्ररी बुझ्न तथा गन्तव्य मुलुकको कानुनी व्यवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। सरकारले विशेष कार्यदलमार्फत सम्बन्धित सरकारी निकायबीच समन्वय, सूचना आदानप्रदान र अनुगमनलाई प्रभावकारी बनाउँदै वैदेशिक रोजगारीका नाममा हुने ठगी, मानव तस्करी तथा श्रमशोषण नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी र श्रमशोषण नियन्त्रण गर्न गृहको विशेष कार्यदल गठन

Read Complete Original Article
Published originally on नेपालन्युज






