काठमाडौं । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहमाथि सघन अनुगमन र कारबाही गर्न गृह मन्त्रालयले सरोकारवाला निकाय सम्मिलित विशेष कार्यदल गठन गरेको छ। वैदेशिक रोजगारीका क्रममा एउटा काम देखाएर अर्को काममा लगाउने, करार सम्झौतामा तोकिएबमोजिमको तलब तथा सेवा–सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने तथा विभिन्न कन्सल्टेन्सीहरूले विदेश पठाउने बहानामा गर्ने ठगीजस्ता गम्भीर समस्याहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले यो कदम चालेको हो । दुबईमा आयोजित “विश्व प्रहरी शिखर सम्मेलन २०२६” मा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास तथा दुबईस्थित महावाणिज्य दुतावासमा स्थानीय नेपाली समुदायसँग छलफल गरे । नियोग, नेपाली समुदाय तथा विभिन्न सरोकारवालाहरूसँगको उक्त अन्तरक्रियामा वैदेशिक रोजगारीका नाममा नेपाली नागरिकहरू ठगिने र श्रम शोषणमा पर्ने गरेको विषय गम्भीर रूपमा उठेको थियो। जवाफमा गृहमन्त्री गुरुङले अन्तरक्रियामा उठेका समस्याहरू समाधान गर्न तत्कालै ठोस कदम (एक्सन) चाल्ने प्रतिबद्धता व्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी र अपराधमा संलग्न जोसुकैलाई पनि उन्मुक्ति नदिइने र देशमा विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । सोही प्रतिबद्धताको कार्यान्वयन तथा पीडितहरूको गुनासोलाई उच्च प्राथमिकता दिँदै बिहीबार मात्र नेपाल आएका गृह मन्त्रीगुरुगंले समस्याको तत्काल समाधान खोज्ने उद्देश्यले शुक्रबारनै गृह मन्त्रालयमा उच्चस्तरीय बैठक आयोजना गरे । गृहमन्त्रीको अध्यक्षतामा बसेको उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव सहित गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलगायतका उच्च अधिकारीहरू, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा वैदेशिक रोजगारीको आवरणमा हुने आर्थिक ठगी, सम्झौता विपरीतको श्रम शोषण, कन्सल्टेन्सीमार्फत हुने ठगी तथा भिजिट भिसाको दुरुपयोग गरी विदेश पुर्याउने प्रवृत्तिलाई तत्काल निरुत्साहित एवं निर्मूल पार्नुपर्ने विषयमा विस्तृत छलफल भएको छ। छलफलपश्चात् बैठकले विभिन्न सम्बद्ध निकायहरूको प्रतिनिधित्व रहने गरी एक संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले आजैदेखि आफ्नो कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ। कार्यदललाई वैदेशिक रोजगारीका नाममा हुने ठगी, करार सम्झौताको उल्लङ्घन, कन्सल्टेन्सीहरूबाट हुने ठगी, भिजिट भिसाको आवरणमा हुने मानव तस्करी तथा श्रम शोषणसम्बन्धी गतिविधिहरूको सूक्ष्म एवं सघन अनुगमन गर्ने, ठगीमा संलग्न गिरोह तथा व्यक्तिहरूको पहिचान गर्ने र प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने कार्यादेश दिइएको छ। गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने यस्ता ठगी र शोषणका घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउँदै सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने स्पष्ट पारेको छ। साथै, विदेश जाँदा कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया, करारका सर्त तथा गन्तव्य मुलुकको कानुनी अवस्थाबारे राम्ररी बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा समेत अनुरोध गरिएको छ। The post वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






