काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत नेपालमा हुने प्लेअफ प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा अभिषेश गौतमले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने खेलतालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी आठ टोली सहभागी हुनेछन् । यी टोलीले विश्वकपको ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन माथिल्लो मूलपानीमा नामिबिया र युगान्डाबीच खेल हुनेछ । नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग खेल्नेछ । नेपालका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन् । नेपालमा हुने प्लेअफबाट छनोट भएका चार टोली पनि थपिएपछि ग्लोबल छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल छनोटको विजेता टोलीले सन् २०२७ को विश्वकपमा सिधै स्थान बनाउनेछ भने दोस्रो, तेस्रो र चौथो हुने टोली नयाँ संरचनाअनुसार सञ्चालन हुने सुपर सिरिजमा सहभागी हुनेछन् । सन् २०२७ को पुरुष एकदिवसीय क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ । १४ टोली सहभागी हुने प्रतियोगितामा १२ मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन् । The post विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






