काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भोजमा मदिरा सेवन तथा खर्चसम्बन्धी विवाद हुन थालेपछि आफ्नो प्रष्टीकरण दिएका छन् । उनले भोजका लागि आफूले ३ किलो बंगुरको मासु र २ किलो कुखुराको मासुसहित केही तरकारी मात्रै किनेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले जीवनमै पहिलो पटक केही साथीहरूसँग भेटघाट गर्ने उद्देश्यले सानो भोज आयोजना गरेको बताएका छन् ।उनका अनुसार भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको थियो । भोजका लागि आवश्यक मासु, साग, धनियाँ, मुला र काँक्रा मात्रै आफूले खरिद गरेको उनको भनाइ छ । भोजमा प्रयोग गरिएको ह्विस्की, वाइन, कोदोको रक्सी र बियर भने साथीहरूले नै ल्याएको उनले स्पष्ट पारेका छन् । चित्र र लुकेश नामका साथीहरूले खाना पकाएको पनि पुनले उल्लेख गरेका छन् । भोजलाई लिएर पत्रकारहरूले आफूलाई देश नै बिगारेजस्तो गरी आलोचना गर्न थालेको भन्दै उनले व्यंग्यात्मक शैलीमा असन्तुष्टि व्यक्त गरेका छन् । ‘यही भोज नै अन्तिम भोज पनि हुने भयो यार,’ उनले लेखेका छन् । साथै पत्रकारहरूसँग व्यंग्यात्मक रूपमा माफी माग्दै आफूले ठूलो गल्ती गरेको टिप्पणीसमेत गरेका छन् ।
विवादपछि मन्त्री महावीर पुनले भने- ‘३ किलो बंगुरको मासु मात्रै मैले किनेको हुँ, वाइन साथीहरूको’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






