विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवैजनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा विस्फोट भएको वस्तु के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






