काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका सामाजिक सेवा समिति तथा विपद् एवं दैवी प्रकोप समितिका सहसभापति विश्वनाथ खनालले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका हरेक अभियानमा निजी क्षेत्र सरकारको सहयात्रीका रूपमा निरन्तर साथ दिन तयार रहेको बताएका छन् । उनले प्राकृतिक विपद्बाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी, पहुँचयोग्य र जनमुखी बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । शीतलहर र हिमपात पूर्वतयारी प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको मस्यौदा छलफल तथा सुझाव सङ्कलन बैठकमा महासङ्घको धारणा राख्दै सहसभापति खनालले पछिल्लो समय सरकारले एसएमएस अलर्ट, मौसम पूर्वानुमान तथा विभिन्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गरिरहेको उल्लेख गर्दै त्यसलाई अझ व्यापक बनाउनु पर्ने बताए । उनका अनुसार समयमै सही सूचना प्राप्त हुँदा नागरिकले सुरक्षित निर्णय लिन सक्ने र सम्भावित जोखिमबाट बच्न सक्ने अवस्था सिर्जना हुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार गरेको छलफलमा उनले हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा वर्षाजन्य विपद्का क्रममा समयमै दिइएको पूर्वसूचनाले धेरै नागरिकको ज्यान जोगाउन सहयोग पुगेको बताए । बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्मा जस्तै आगामी जाडोयाममा देखिन सक्ने शीतलहर, बाक्लो हुस्सु तथा यातायात अवरोधका जोखिमबारे पनि अग्रिम सूचना प्रवाहलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । “आज मौसमसम्बन्धी पूर्वसूचनाका कारण धेरै मानिसको ज्यान जोगाउन सम्भव भएको छ। यस्ता सूचना प्रणालीलाई अझ सशक्त बनाउँदै जनस्तरसम्म पु¥याउन आवश्यक छ,” सहसभापति खनालले भने । उनले रेडियो, एफएम तथा स्थानीय सञ्चार माध्यमको प्रयोगलाई थप प्रभावकारी बनाउन सके विपद् सम्बन्धी सूचना दुर्गम क्षेत्रसम्म सहजै पुग्ने बताए । खनालले जाडो मौसममा कुन क्षेत्रमा शीतलहरको जोखिम बढी छ, कहाँ बाक्लो हुस्सुका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्छ, कुन क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ भन्ने जानकारी नागरिकलाई समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिए। यसबाट सर्वसाधारण, यात्रु तथा व्यवसायी सबैलाई आफ्नो दैनिक गतिविधि तथा यात्रा व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । उनले सरकार, निजी क्षेत्र र सञ्चारबिचको समन्वयलाई अझ मजबुत बनाउँदै सूचना प्रवाहलाई विपद् व्यवस्थापनको मुख्य आधारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । महासङ्घले पनि जनचेतना अभिवृद्धि, सूचना प्रवाह र विपद् जोखिम न्यूनीकरणका अभियानमा नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए। खनालका अनुसार विपद्का बेला उद्धार र राहत मात्रै नभई समयमै सूचना प्रवाह तथा जनचेतना विस्तार नै जोखिम न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय हो । यही कारण पूर्वसूचना प्रणालीमा लगानी बढाउन र त्यसको पहुँच गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
विपद् व्यवस्थापनमा सरकारको सहयात्री बन्न निजी क्षेत्र तयार : सहसभापति खनाल

Read Complete Original Article
Published originally on टक्सार






