काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक विवाददेखि सरकारका काम कारबाहीसम्मका विषयमा आक्रामक धारणा सार्वजनिक गर्नुभएको छ । पार्टीको आधिकारिकता र नेतृत्वमाथि उठिरहेका प्रश्नलाई अस्वीकार गर्दै उहाँले विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ भने सरकारलाई आफूविरुद्ध अनुसन्धान गर्न वा पक्राउ गर्न आए हतकडी लिएर आउन चुनौती दिनुभएको छ । मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै थापाले कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्व उल्टिने सम्भावना नरहेको दाबी गर्नुभयो । पार्टीभित्र असन्तुष्ट पक्षसँग संवाद गर्न आफू तयार रहेको बताउँदै उहाँले विधान र अनुशासनविपरीत गतिविधि गर्न भने कसैलाई छुट नदिने स्पष्ट पार्नुभयो । पार्टीको आधिकारिकता सर्वोच्च अदालतबाट उल्टिन्छ भन्नु संसद् पुनःर्स्थापना हुन्छ भन्नुजस्तै भएको उहाँको टिप्पणी थियो । संसद् पुनःर्स्थापना हुन्छ भन्ने मान्ने हो भने मात्रै महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्व उल्टिने कुरा मान्न सकिने उहाँले बताउनुभयो । थापाले अहिले भइरहेको अर्को अधिवेशन कांग्रेसको आधिकारिक अधिवेशन नभएको जिकिर गर्दै त्यसमा सहभागी हुनेहरूलाई विधानअनुसार कारबाही गरिने चेतावनी दिनुभयो । एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने उल्लेख गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीमा प्रवेश गरेमा पनि कारबाही हुने उहाँको भनाइ थियो । राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिले पार्टीको सदस्यता त्यागेर अर्को दलमा आबद्ध भए विधानअनुसार कदम चाल्ने उहाँले स्पष्ट पार्नुभयो । विशेष महाधिवेशनमा सहभागी भए वा नभएको विषयभन्दा पनि पार्टीको सदस्य भएर अर्को पार्टीको सदस्यता लिने गतिविधि गम्भीर हुने उहाँको तर्क थियो । देउवालाई मर्यादा कायम राख्न आग्रहसभापति थापाले पार्टीभित्र विवाद र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई लुकाएर राख्ने पक्षमा आफू नरहेको बताउनुभयो । महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तासमेत कांग्रेसकै सदस्य भएको उल्लेख गर्दै उहाँले उनीहरूसँग छलफल गर्न आफूलाई कुनै अप्ठ्यारो नरहेको स्पष्ट पार्नुभयो । विशेष महाधिवेशनपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग पटक–पटक छलफल गरेको जानकारी दिँदै उहाँले पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताउनुभयो । तर, एकताको प्रयासको पनि सीमा हुने भन्दै विधानविपरीत गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ थियो । थापाले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान र चिन्ता व्यक्त गर्दै आफ्नो राजनीतिक कद र मर्यादा कायम राख्न आग्रह गर्नुभयो । देउवा कांग्रेसका अभिभावक, वरिष्ठ नेता र पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले उहाँको अभिव्यक्ति पनि सोहीअनुसार हुनुपर्ने उहाँले बताउनुभयो । ‘जेन-जी’ आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो ? भनेर प्रश्न गर्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको भिडियो आफूले हेरेको प्रसंग सुनाउँदै उहाँले असन्तुष्टि जनाउनुभयो । ‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ । असहमति पनि राजनीतिक हुनुपर्छ । सीमा र मर्यादाभित्र हुनुपर्छ’, उहाँले भन्नुभयो । देउवालाई सुझाव दिँदै थापाले भन्नुभयो, ‘उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुहोस् । तपाईंले आफ्नो लेभल मेन्टेन गर्नुहोस् । तपाईं कांग्रेस सभापति, पाँच पटक प्रधानमन्त्री भएको नेता हो, त्यसलाई मेन्टेन गर्नुहोस् ।’देउवाप्रति व्यक्तिगत गुनासो नभई प्रेम र स्नेहका कारण यस्तो सुझाव दिएको उहाँले स्पष्ट पार्नुभयो । अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि प्रश्न उठाउँदै थापाले अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्नुभयो । ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनुहोला’सभापति थापाले आफू वा अन्य कुनै व्यक्तिविरुद्ध हुने अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने बताउनुभएको छ । तर, राजनीतिक प्रतिशोधका आधारमा राज्यका संयन्त्र परिचालन नगर्न सरकारलाई चेतावनी दिँदै उहाँले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन चुनौती दिनुभयो । ‘नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको’, उहाँले भन्नुभयो । राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमविरुद्ध आवाज उठाउँदै आएको स्मरण गर्दै उहाँले विगतमा राजद्रोहको मुद्दा तथा माओवादी द्वन्द्वका क्रममा समेत कठिन परिस्थितिको सामना गरेको बताउनुभयो । आफूविरुद्ध व्यक्तिगत जीवनमै असर पर्नेगरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको उहाँको टिप्पणी थियो । ‘पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन’, उहाँले भन्नुभयो । अध्यादेशको शासनविरुद्ध कांग्रेस चुप नबस्नेसभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँच वर्ष नै निर्वाध रूपमा काम गर्न दिनुपर्ने धारणा राख्दै सरकारका गलत कामको भने विरोध गरिरहने बताउनुभएको छ । सरकारले अध्यादेश ल्याउने, राष्ट्रपति कार्यालयमा पठाउने र त्यसैका आधारमा शासन सञ्चालन गर्ने प्रवृत्ति देखाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘अध्यादेश ल्याएर राष्ट्रपति कार्यालयमा फालिदिने प्रचलन बन्यो । यसरी अध्यादेशको शासनविरुद्ध हामी चुप भएर बस्ने ?’ उहाँले प्रश्न गर्नुभयो । अध्यादेश ल्याउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो । प्रतिस्थापन विधेयकसमेत नल्याई अध्यादेशबाटै काम गर्ने प्रवृत्तिले संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको उहाँले बताउनुभयो ।रास्वपाभित्रको आन्तरिक विवादमा कांग्रेस प्रवेश नगर्ने स्पष्ट पार्दै उहाँले सरकारसँग सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य र प्रश्न उठाउनुपर्ने ठाउँमा खबरदारी गर्ने बताउनुभयो । प्रतिपक्षी दलका रूपमा सरकारका काम कारबाहीको निगरानी गर्नु कांग्रेसको जिम्मेवारी भएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि नदेखिएको टिप्पणीसभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका ठोस काम भएको आफूलाई नदेखिएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे हतारमा निष्कर्ष सुनाउने पक्षमा आफू नरहेको बताउँदै उहाँले भ्रमणका उपलब्धिबारे प्रधानमन्त्रीले स्पष्ट जानकारी गराउनुपर्ने बताउनुभयो । ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन’, उहाँले भन्नुभयो । प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किनुभएको थियो । सभापति थापाको सम्बोधनले कांग्रेसभित्रको नेतृत्व विवाद समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने र प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारलाई खबरदारी गर्ने दुईवटा चुनौती एकसाथ अघि बढाउन खोजिएको देखिन्छ । पार्टीभित्र संवाद र एकताको ढोका खुला राख्ने तर विधानविपरीत गतिविधिमा कडाइ गर्ने उनको रणनीति आगामी दिनमा कति प्रभावकारी हुन्छ भन्नेले कांग्रेसको आन्तरिक राजनीति र प्रतिपक्षी भूमिकाको दिशा निर्धारण गर्नेछ ।
विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






