चिनियाँ प्रविधि कम्पनी शाओमीको सन् २०२६ को तेस्रो त्रैमासिक खुद नाफा ५७ प्रतिशतले घटेको छ। विद्युतीय सवारीसाधन र स्मार्टफोन दुवै व्यवसायको आम्दानी घटेपछि कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा कम भएको हो। हङकङमा सूचीकृत कम्पनीले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा समायोजित खुद नाफा ४ अर्ब ९० करोड युआन (७३ करोड ५६ लाख ५० हजार अमेरिकी डलर) रहेको जनाएको छ। एलएसईजीको तथ्याङ्कअनुसार विश्लेषकहरूले औसतमा ५ अर्ब २० करोड युआन नाफा हुने अनुमान गरेका थिए। विद्युतीय सवारीको आम्दानी १९.९ प्रतिशतले घट्यो शाओमीको नयाँ ऊर्जा सवारीसाधन (एनईभी), कृत्रिम बुद्धिमता तथा अन्य नयाँ व्यावसायिक क्षेत्रले उक्त त्रैमासिकमा ३ अर्ब ४० करोड युआन सञ्चालन घाटा बेहोरेका छन्। सवारीसाधनको डेलिभरी घटेका कारण विद्युतीय सवारीबाट मात्रै हुने आम्दानी १९.९ प्रतिशतले घटेर २२ अर्ब ७० करोड युआनमा सीमित भएको कम्पनीले जनाएको छ। विश्लेषकहरूले सवारीसाधन बजारमा बढ्दो मूल्य प्रतिस्पर्धा र चीनको आन्तरिक अटो बजार कमजोर हुँदै जानुलाई शाओमीको अटोमोबाइल व्यवसायका लागि जोखिमका रूपमा औँल्याएका छन्। उनीहरूका अनुसार हालै बजारमा ल्याइएको स्काईनोम्याड एसयूभी सिरिजको बिक्रीले पुराना मोडलको घट्दो बिक्रीलाई केही हदसम्म मात्रै पूर्ति गर्न सकेको छ। स्मार्टफोनको नाफा मार्जिन घट्यो रोयटर्सका अनुसार सामसङ र एप्पलपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता शाओमीले तेस्रो त्रैमासिकमा १०७ अर्ब २० करोड युआन आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशत कम हो। मेमोरीको उच्च मूल्य कायम रहेपछि कम्पनीको स्मार्टफोनको कुल नाफा मार्जिन अघिल्लो वर्षको सोही अवधिको ११.१ प्रतिशतबाट घटेर ९.२ प्रतिशतमा झरेको छ। यद्यपि, अघिल्लो त्रैमासिकको तुलनामा स्मार्टफोनको औसत बिक्री मूल्य १० प्रतिशतले बढेको शाओमीले जनाएको छ। अनुसन्धान संस्था काउन्टरपोइन्टका अनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा शाओमीको स्मार्टफोन आपूर्तिमा ३० प्रतिशतभन्दा बढीको उल्लेखनीय गिरावट आएको छ। यससँगै बजार हिस्सा घटेर १२ प्रतिशतमा झरेको छ। काउन्टरपोइन्टका अनुसार प्रिमियम स्मार्टफोन बजारमा ध्यान केन्द्रित गर्ने क्रममा शाओमीले कम मूल्यका स्मार्टफोन र मुख्य व्यवसायमा नपर्ने विदेशी बजारप्रतिको आफ्नो निर्भरता घटाएको छ। शाओमीले एप्पलसँग थप प्रत्यक्ष प्रतिस्पर्धा गर्ने उद्देश्यले सेप्टेम्बरमा नयाँ फ्ल्यागसिप फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो। त्यसै समयमा प्रमुख प्रतिस्पर्धी एप्पलले पनि आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो। The post विद्युतीय सवारीको बिक्री घट्दा शाओमीको तेस्रो त्रैमासिक नाफा ५७ प्रतिशतले घट्यो appeared first on Technology Khabar.
विद्युतीय सवारीको बिक्री घट्दा शाओमीको तेस्रो त्रैमासिक नाफा ५७ प्रतिशतले घट्यो

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






