काठमाडौं- इङ्ग्ल्यान्डमा सन् २०२७ सेप्टेम्बरदेखि लागू हुने नयाँ सरकारी निर्देशिकाअनुसार विद्यार्थीले विद्यालयमा दिनभर आफ्नो साथमा मोबाइल फोन राख्न नपाउने भएका छन् । हाल केही विद्यालयमा विद्यार्थीले मोबाइल फोन नदेखिने र आवाज नसुनिने गरी झोलाभित्र राख्न पाउने व्यवस्था छ । तर नयाँ व्यवस्थाले विद्यालयलाई पूर्ण रूपमा मोबाइलमुक्त बनाउने लक्ष्य राखेको छ । गत जुनमा लागू गरिएका निर्देशिकाअनुसार विद्यालय र विद्यालय सञ्चालन गर्ने ट्रस्टहरूलाई विद्यालय समयभर मोबाइल फोनमुक्त वातावरण सुनिश्चित गर्ने कानुनी जिम्मेवारी दिइएको छ । शिक्षामन्त्री लुसी पावेलले अभिभावक र विद्यार्थीलाई सरकारको सन्देश स्पष्ट रहेको बताएकी छन् । उनले भनेकी छन्, “विद्यालय पढाइ र मित्रता विकास गर्ने ठाउँ हुन्, मोबाइलमा स्क्रोल गरेर समय बिताउने ठाउँ होइनन् ।” सरकारका अनुसार मोबाइल फोनको पहुँचले विद्यार्थीको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्नुका साथै उनीहरूबीचको आपसी सम्बन्ध र घुलमिलमा पनि बाधा पुर्याउन सक्छ । नयाँ नियम कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय भने विद्यालय आफैंले गर्न सक्नेछन् । केही विद्यालयले मोबाइल फोन राख्न लक गर्न मिल्ने पाउच वा सुरक्षित लकरको व्यवस्था गरेका छन् । त्यस्तै कतिपय विद्यालयले दिनको सुरुमै विद्यार्थीबाट मोबाइल संकलन गर्ने वा विद्यालयमा मोबाइल ल्याउनै नपाउने व्यवस्था गरेका छन् । शिक्षासम्बन्धी नीति र निर्णय बेलायतका विभिन्न भागमा सम्बन्धित सरकारहरूले गर्ने भएकाले मोबाइल फोन प्रयोगसम्बन्धी नियम पनि फरक–फरक छन् । स्कटल्यान्डले यस विषयमा नयाँ कानुन ल्याउने तयारी गरेको छ भने वेल्स र उत्तरी आयरल्यान्डमा पनि मोबाइल प्रतिबन्धबारे सर्वसाधारणको राय मागिएको छ ।
विद्यालयमा मोबाइल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउँदै इङ्ग्ल्यान्ड

Read Complete Original Article
Published originally on विश्वखबर






