काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र मखमली माला लगाएर भाइटीका मनाइरहेका छन् । नेपालमा आज बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ । नेपालमा जस्तै विदेशमा रहेका नेपालीले पनि आ–आफ्नो स्थानीय समयअनुसार भाइटीका मनाउँदैछन् । त्यसका लागि विभिन्न देश र सहरको शुभसाइतसमेत निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार भारतको राजधानी नयाँ दिल्लीमा नोभेम्बर ११ अर्थात् कात्तिक २६ गते बिहान ११ बजेर २१ मिनेटमा र भुटानको थिम्पुमा बिहान ११ बजेर ५ मिनेटमा टीका लगाउने उत्तम साइत छ । त्यस्तै, अमेरिका र क्यानडामा नोभेम्बर १० अर्थात् कात्तिक २५ गते भाइटीका मनाइँदैछ । अमेरिकाको न्युयोर्कमा बिहान ११ बजेर २५ मिनेट, टेक्सासमा ११ बजेर ३५ मिनेट, वासिङ्टन डीसीमा ११ बजेर ३३ मिनेट र क्यालिफोर्नियामा ११ बजेर ५ मिनेटमा शुभसाइत रहेको छ । क्यानडाको टोरन्टोमा बिहान ११ बजेर ५७ मिनेट र भ्यानकुभरमा ११ बजेर ५५ मिनेटमा टीका लगाउन उत्तम समय निर्धारण गरिएको छ । बेलायत तथा युरोपेली देशहरूमा पनि नोभेम्बर १० मै भाइटीका मनाइँदैछ । बेलायतको लन्डनमा बिहान ११ बजेर ३१ मिनेट, फ्रान्सको पेरिसमा ११ बजेर ३५ मिनेट, पोर्चुगलको लिस्बनमा ११ बजेर ५७ मिनेट र स्वीट्जरल्यान्डको जेनेभामा ११ बजेर ४५ मिनेटमा टीका लगाउने शुभसाइत छ । यता अस्ट्रेलिया र न्युजिल्यान्डमा भने नोभेम्बर ११ अर्थात् कात्तिक २६ गते भाइटीका मनाइँदैछ । अस्ट्रेलियाको सिड्नीमा बिहान ११ बजेर ४५ मिनेट, मेलबर्नमा ११ बजेर ५५ मिनेट, ब्रिसबेनमा १० बजेर ५५ मिनेट र पर्थमा ११ बजेर ११ मिनेटमा शुभसाइत रहेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा बिहान ११ बजेर ५५ मिनेटमा टीका लगाउन उत्तम समय निर्धारण गरिएको छ । त्यसैगरी जापानको टोकियोमा बिहान ११ बजेर १ मिनेट, दक्षिण कोरियाको सियोलमा ११ बजेर ५५ मिनेट, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ३३ मिनेट र सिंगापुरमा ११ बजेर २३ मिनेटमा टीका लगाउने शुभसाइत छ । खाडी मुलुकतर्फ कतारको दोहामा बिहान ११ बजेर २५ मिनेट, संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ११ बजेर ११ मिनेट र साउदी अरेबियामा १० बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ । इजरायलको तेल अभिभमा भने नोभेम्बर १० अर्थात् कात्तिक २५ गते बिहान ११ बजेर १ मिनेटमा शुभसाइत निर्धारण गरिएको छ । समितिका अनुसार सार्वजनिक गरिएका समय भाइटीका लगाउनका लागि उत्तम साइत हुन् । यद्यपि, सम्बन्धित देशमा बसोबास गर्ने नेपालीले आफ्नो अनुकूलताअनुसार सोही दिन भाइटीका लगाउन सक्नेछन् ।
विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको शुभसाइत, कुन देशमा कति बजे ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_Oju6PSYFK0.webp)



