काठमाडौं । समाजमा महिलाले कति सम्मानका साथ बाँच्न पाएकी छन्, बालिकाले कति निर्भय भएर आफ्नो सपना देख्न सकेकी छन् र प्रत्येक व्यक्तिले आफ्नो अस्तित्व कति सुरक्षित महसुस गरेका छन्, भन्ने कुराले वास्तविक सभ्यताको परिचय दिन्छ। जहाँ आधा आकाश मानिने महिलाले आफ्नो स्वतन्त्रताको मूल्य असुरक्षाबाट चुकाउनुपर्छ भने त्यॅहा विकासका उपलब्धिहरू कहिल्यै पूर्ण हुन सक्दैनन्। लैङ्गिक हिंसा कुनै एउटा व्यक्ति माथि गरिएको दुर्व्यवहार मात्र होइन, यो मानवीय गरिमा, समानता र स्वतन्त्रता माथिको गम्भीर प्रहार हो। यसको स्वरूप सधैँ देखिने चोटमा सीमित हुँदैन। कहिले अपमानजनक शब्द बनेर, कहिले आर्थिक परनिर्भरता बनेर, कहिले इच्छा विपरीत थोपरिएको निर्णय बनेर त कहिले मौनता भित्र लुकाइएको पीडा बनेर यसले महिलाको आत्मसम्मानलाई क्षतविक्षत बनाइरहेको हुन्छ। शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक तथा डिजिटल माध्यमबाट हुने दुर्व्यवहार यसका फरकफरक रूप हुन्। यसको सिकार महिला मात्र होइनन्। बालबालिका, पुरुष, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र समाजका विभिन्न वर्गका मानिस पनि हुन सक्छन्। यद्यपि यसको भार असमान रूपमा महिला माथि पर्ने यथार्थलाई बेवास्ता गर्न मिल्दैन। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल दिवसहरूको शृङ्खला होइन। यो समाजलाई आफ्नै विवेकको ऐना देखाउने अवसर हो। नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसबाट सुरु भई डिसेम्बर १० मानव अधिकार दिवसमा पुगेर टुङ्गिने यस अभियानले एउटा गहिरो सन्देश दिन्छ। महिलाको सुरक्षा र सम्मान कुनै छुट्टै सुविधा होइन, त्यो आधारभूत मानव अधिकार हो। तर प्रश्न उठ्छ, वर्षमा १६ दिन आवाज उठाएर बाँकी ३४९ दिन मौन बस्ने हो भने परिवर्तनको यात्रा कहाँ पुग्ला? अभियानका नारा भित्तामा लेखिएर मात्र हिंसाको अन्त्य हुँदैन। त्यसका लागि घर भित्रको व्यवहार, विद्यालयको शिक्षा, कार्यस्थलको संस्कृति, सार्वजनिक स्थानको सुरक्षा र राज्यको न्याय प्रणालीसम्म परिवर्तनको उज्यालो पुग्नुपर्छ। हिंसाको एउटा डरलाग्दो पक्ष यसको सामान्यीकरण हो। छोरीलाई सहनशीलताको नाममा अन्याय सहन सिकाइन्छ, बुहारीलाई पारिवारिक प्रतिष्ठाको नाममा अपमान पचाउन बाध्य बनाइन्छ, महिलाको पहिरन, हिँडाइ, बोली र स्वतन्त्रता माथि प्रश्न उठाइन्छ। तर हिंसा गर्ने व्यक्तिको सोच र व्यवहार माथि पर्याप्त प्रश्न उठाइँदैन। यही उल्टो सामाजिक दृष्टिकोणले अन्यायलाई संरक्षण दिइरहेको छ। पीडितको चरित्र खोज्ने समाजले हिंसाको कारण खोज्न सक्दैन। हामीले बुझ्नुपर्ने कुरा के हो भने सहनशीलता र अन्याय सहनु एउटै कुरा होइनन्। पारिवारिक सम्बन्ध जोगाउने नाममा आत्मसम्मान गुमाउनु संस्कार होइन। मौन रहनुलाई मर्यादा र प्रतिकार गर्नुलाई अवज्ञा ठान्ने सोच बदलिनुपर्छ। कुनै पनि सम्बन्धमा प्रेम हुन सक्छ, अधिकार हुन सक्छ, जिम्मेवारी हुन सक्छ, तर कसैको शरीर, विचार, स्वतन्त्रता र निर्णयमाथि अर्को व्यक्तिको निरङ्कुश स्वामित्व हुनु हुदैन। लैङ्गिक समानताको बहस महिलालाई पुरुष विरुद्ध उभ्याउने अभियान होइन। यो असमान शक्ति सम्बन्धलाई सच्याएर दुवैलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्ने मानवीय प्रयत्न हो। पुरुष पनि परिवर्तनका साझेदार बन्नुपर्छन्। छोरालाई छोरीभन्दा फरक संस्कार होइन, समान सम्मानको शिक्षा दिनुपर्छ। घरको काम महिलाको मात्रै दायित्व होइन भन्ने चेतना परिवारबाटै सुरु हुनुपर्छ। छोरीलाई निर्भीक बन्न सिकाउँदा छोरालाई मर्यादित व्यवहार गर्न सिकाउनु पनि उत्तिकै आवश्यक छ। आज हिंसाको स्वरूप डिजिटल संसारसम्म फैलिएको छ। सामाजिक सञ्जाल मार्फत चरित्र हत्या, धम्की, निजी तस्बिरको दुरुपयोग, अनलाइन दुर्व्यवहार र साइबर उत्पीडनले नयाँ चुनौती थपेका छन्। प्रविधिले संसारलाई नजिक बनाएको छ, तर जिम्मेवारी विहीन प्रयोगले मानिसको निजता र आत्मसम्मानलाई जोखिममा पारेको छ। त्यसैले डिजिटल साक्षरता, गोपनीयताको सुरक्षा र साइबर अपराध विरुद्ध प्रभावकारी कानुनी कार्यान्वयन पनि अभियानका अनिवार्य विषय बन्नु पर्दछ। हिंसामुक्त समाज निर्माणका लागि कानुन हुनु मात्र पर्याप्त छैन। कानुनमा पहुँच, निष्पक्ष अनुसन्धान, पीडितमैत्री न्याय प्रक्रिया, मनोसामाजिक परामर्श, सुरक्षित आश्रय, आर्थिक पुनःस्थापना र दोषीमाथि प्रभावकारी कारबाही सुनिश्चित हुनुपर्छ। विशेषतः ग्रामीण क्षेत्र, आर्थिक रूपमा विपन्न समुदाय र सामाजिक रूपमा पछाडि पारिएका व्यक्तिहरूले न्याय खोज्न सक्ने सहज वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। पीडितले उजुरी गर्दा उसैलाई दोषी ठहर गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म न्यायको ढोका सबैका लागि खुला हुन सक्दैन। स्वास्थ्य संस्थाहरूको भूमिका पनि यस सन्दर्भमा महत्त्वपूर्ण छ। हिंसाबाट प्रभावित व्यक्तिले सबैभन्दा पहिले आफ्नो पीडा चिकित्सक वा स्वास्थ्यकर्मी सामु व्यक्त गर्न सक्ने वातावरण सिर्जना हुनुपर्छ। त्यसैले स्वास्थ्य सेवा केवल घाउको उपचारमा सीमित हुनुहुँदैन। संवेदनशील व्यवहार, गोपनीयताको प्रत्याभूति, आवश्यक मनोसामाजिक सहयोग र सम्बन्धित निकायसम्मको सुरक्षित पहुँच पनि सेवाको अभिन्न हिस्सा बन्नुपर्छ। पीडितलाई शङ्काको दृष्टिले होइन, मानवीय संवेदनाले हेर्न सक्ने संस्थागत संस्कार विकास गर्नु आजको आवश्यकता हो। महिलाको आर्थिक सशक्तीकरण पनि हिंसाविरुद्धको दीर्घकालीन आधार हो। शिक्षा, सीप, रोजगारी, सम्पत्तिमाथिको अधिकार र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताले आत्मनिर्भरता बढाउँछ। तर आर्थिक आत्मनिर्भरता मात्रैले हिंसा अन्त्य हुँदैन। त्यससँगै सामाजिक चेतना, कानुनी संरक्षण र सम्मानजनक पारिवारिक संस्कार पनि विकसित हुनुपर्छ। हामीले बालबालिकालाई सानै देखि शरीरको स्वायत्तता, सुरक्षित र असुरक्षित स्पर्श, व्यक्तिगत सीमाको सम्मान तथा असहज परिस्थिति आएमा विश्वासिलो व्यक्तिसँग कुरा गर्न सक्ने साहस सिकाउनुपर्छ। विद्यालयमा लैङ्गिक समानता पाठ्यपुस्तकको एउटा अध्यायमा सीमित रहनु हुदैन। शिक्षकको व्यवहार, सहपाठी बीचको सम्बन्ध र संस्थागत नीतिमा पनि प्रतिबिम्बित हुनुपर्छ। परिवर्तनको जिम्मेवारी कुनै एउटा मन्त्रालय, संस्था, अभियानकर्मी वा महिलाको काँधमा मात्र राखेर समाज हिंसामुक्त बन्न सक्दैन। परिवारले संस्कार बदल्नुपर्छ, विद्यालयले चेतना जगाउनुपर्छ, सञ्चारमाध्यमले संवेदनशीलता अपनाउनुपर्छ, नागरिक समाजले खबरदारी गर्नुपर्छ र राज्यले न्याय सुनिश्चित गर्नुपर्छ। हिंसा देख्दा चुप लागेर बस्नु तटस्थता होइन। अन्यायलाई निरन्तरता दिने मौन समर्थन बन्न सक्छ। त्यसैले आजको आवश्यकता केवल महिलालाई सुरक्षित राख्ने भाषणको होइन, हिंसा गर्ने सोचलाई जन्म दिने संरचना परिवर्तन गर्ने साहसको हो। हामीले छोरीलाई संसारसँग डराएर बाँच्न होइन, आफ्नो अधिकार र क्षमतामा विश्वास गरेर अघि बढ्न सक्ने वातावरण दिनुपर्छ। महिलाको स्वतन्त्रता परिवारको विघटन होइन, परिवारको चेतनास्तर उकास्ने आधार हो। उनको सम्मान पुरुषको हार होइन, मानवताको जित हो। १६ दिने अभियानको सार पनि यही हो। हिंसाको अन्त्य कुनै उत्सवको नारा होइन, हरेक दिन निर्वाह गर्नुपर्ने सामाजिक जिम्मेवारी हो। घरको ढोकाबाट सुरु भएको सम्मान सडक, विद्यालय, कार्यस्थल र राज्यका संस्थासम्म विस्तार हुनुपर्छ। जब कुनै छोरीले आफ्नो सपना देख्दा सुरक्षा खोज्न नपरोस्, कुनै महिलाले आफ्नो निर्णय लिँदा अपमानित हुन नपरोस् र कुनै पीडितले न्याय माग्दा समाजको कठघरामा उभिनुपर्ने दिन नआओस्। तब मात्र हामीले अभियानको वास्तविक उपलब्धि हासिल गरेको मान्न सक्नेछौँ। किनकि हिंसामुक्त समाजको निर्माण महिलालाई जोगाउने प्रयत्न होइन, मानवीय सभ्यतालाई जोगाउने संकल्प हो। जहाँ सम्मान सुरक्षित हुन्छ, त्यहीँ स्वतन्त्रता फुल्छ। जहाँ समानता स्थापित हुन्छ, त्यहीँ न्यायपूर्ण भविष्यको जग बस्छ। आउनुहोस्, १६ दिनका लागि होइन, जीवनभरका लागि हिंसाविरुद्ध उभिऔँ। मौनतालाई आवाज दिऔँ, अन्यायलाई प्रश्न गरौँ र सम्मानलाई संस्कार बनाऔँ। “महिलाको सम्मान पुरुषको हार होइन, मानवताको जित हो।”
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : चेतनादेखि परिवर्तनसम्मको यात्रा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





